गोरखा– जिल्लाका ११ वटा स्थानीय तहका प्रमुखहरूले भ्रष्टाचार अन्त्य, सुशासन स्थापना र जनताको मौलिक अधिकारको प्रत्याभूति गर्न उठाइएको जेनजी आन्दोलनका जायज मागमा समर्थन जनाउँदै तर आन्दोलनका नाममा भएको अराजक क्रियाकलापप्रति खेद प्रकट गरेका छन्।
नगरपालिका र गाउँपालिकाका प्रमुखहरूले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको निःशुल्क उपचार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘भ्रष्ट नेताको सम्पत्ति छानबिन गरिऊँ, सुशासन कायम गरिऊँ भन्ने मागसहित उठाइएको शान्तिपूर्ण आन्दोलनलाई हामी समर्थन गर्छौँ। तर यसको आडमा सरकारी संरचना, ऐतिहासिक सम्पदा, कार्यालय, उद्योग–व्यवसायमा भएको आगजनी, तोडफोड र मानवअधिकार विरोधी गतिविधिलाई हामी घोर निन्दा गर्दछौँ।’
स्थानীয় तहका प्रमुखहरूले आन्दोलनका क्रममा जनप्रतिनिधि तथा नागरिकका निजी सम्पत्तिमा भएको क्षति र धम्कीप्रति पनि आपत्ति जनाएका छन्। उनीहरूले सार्वजनिक सम्पत्ति तथा दस्ताबेजको सुरक्षा गर्दै निर्बाध सेवा प्रवाह गर्ने वातावरण बनाउन सरकार, सुरक्षा निकाय र सम्बन्धित पक्षलाई आह्वान गरेका छन्।
साथै, संविधानको भावना र कानुनी शासनलाई प्रमुख मान्दै देशलाई संकटबाट उकास्न राष्ट्रिय सहमति कायम गर्न सबैसँग आग्रह गरिएको छ।
संयुक्त विज्ञप्ति गोरखा नगरपालिका प्रमुख कृष्ण बहादुर राना मगर, पालुङटार नगरपालिका प्रमुख विवश चिन्तन, बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु भट्ट, अजिरकोट गाउँपालिका अध्यक्ष दीपक देवकोटा, भिमसेनथापा गाउँपालिका अध्यक्ष लोक प्रसाद बन्जारा, धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङ, गण्डकी गाउँपालिका अध्यक्ष दीपक तिमिल्सेना, चुमनुब्री गाउँपालिका अध्यक्ष नीमा लामा, आरूघाट गाउँपालिका अध्यक्ष राजु गुरुङ, सिरानचोक गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङ र सहिद लखन गाउँपालिका अध्यक्ष रमेश बाबु थापा मगरले संयुक्त रूपमा जारी गरेका हुन्।

प्रतिक्रिया