काठमाडौं– यस वर्षको दशैंमा नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने भएको छ। विगतमा प्रत्येक वर्ष चाडपर्व विशेष गरी दशैं–तिहारका लागि नयाँ नोट उपलब्ध गराउँदै आएको राष्ट्र बैंकले खर्च व्यवस्थापन र नोटको छिटो बिग्रने समस्या कम गर्न नयाँ नोट वितरण बन्द गरेको जनाएको छ।
राष्ट्र बैंकले अबदेखि बजारमा प्रचलनमा आएका तर सफा र राम्रो अवस्थामा रहेका नोट (सुकिला नोट) मात्र सटही गर्ने व्यवस्था मिलाउने भएको हो। यसअन्तर्गत आवश्यक दरका नोट बजारमा पठाइने र त्यही सुकिला नोटलाई सर्वसाधारणले बैंक तथा वित्तीय संस्थामार्फत प्राप्त गर्न सक्नेछन्।
मुद्रा व्यवस्थापन विभागले भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट सटही गर्न सकिने जानकारी सार्वजनिक गरेको छ। काठमाडौं थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग, प्रदेशस्थित कार्यालयहरू (विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी) तथा इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट नोट सटही गर्न सकिनेछ।
सूचनामा भनिएको छ, ‘२०८२ को बडादशैंमा नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग तथा प्रदेश कार्यालयहरू र इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट २०८२ भदौ २९ देखि असोज १० गतेसम्म बैंकिङ कारोबार समयमा सुकिला नोट सटही गर्न सकिने ब्यहोरा सबैलाई जानकारी गराइन्छ।’
विगतमा ५, १०, २०, ५० र १०० का साना दरका नयाँ नोट सटहीको सुविधा दिइँदै आएको थियो। तर, दशैं–तिहारका समयमा प्रयोग हुने नयाँ नोट चाँडै बिग्रने, च्यातिने तथा प्रचलनमा टिकाउ नहुने समस्या देखिएपछि गत वर्षदेखि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने प्रथा बन्द गरेको हो।
प्रतिक्रिया