+
Search

ताजा अपडेट +

पपुलर +

जिल्ला दररेट

आर्थिक वर्ष २०८२/०८३ का लागि जिल्ला दररेट निर्धारण, अदक्ष कामदारको न्यूनतम ज्याला ८८० रुपैयाँ

पालिका लाइभ
२०८२ श्रावण १, बिहीबार

गोरखा– आर्थिक वर्ष २०८२/०८३ का लागि जिल्ला दररेट निर्धारण गरिएको छ । मंगलबार सम्पन्न जिल्ला दररेट निर्धारण समितिको बैठकले विभिन्न सेवा तथा निर्माण सामग्रीको नयाँ दर सार्वजनिक गरेको हो ।

प्रमुख जिल्ला अधिकारी तथा दररेट निर्धारण समितिका संयोजक रामुराज कडरियाका अनुसार अदक्ष कामदार, ज्यामी, क्याम्प वर्कर, कुल्ली र लेन्थ वर्करहरूको दैनिक ज्याला ८८० रुपैयाँ तोकिएको छ । अर्धदक्ष कामदारको ज्याला ९९० रुपैयाँ र दक्ष कामदारको ज्याला १२४० रुपैयाँ कायम गरिएको छ । यो दर गत वर्षकै दरअनुसार यथावत राखिएको हो ।

वन हेरालु, नर्सरी हेरालु, सर्भे, पोलिङ, केवलिङ, हेल्पर, चेनमेन र वाचमेनको ज्याला प्रतिदिन ६८० रुपैयाँ तोकिएको छ । झोलुङ्गे पुलको विण्ड टाई मिलाउने, सस्पेन्सन प्रकारको पुलमा सस्पेण्डर राख्ने, मेन केवल तथा सस्पेण्डरमा ग्रिज वा रंग लगाउने दक्ष कामदारको ज्याला १४५० रुपैयाँ निर्धारण गरिएको छ ।

निर्माण सामग्रीको दरमा भने केही हेरफेर गरिएको छ । चिम्नीमा तयार गरिएको ‘ए’ ग्रेडको इँटाको मूल्य प्रति हजार १६ हजार रुपैयाँ तोकिएको छ भने तराई क्षेत्रको चिम्नी ‘ए’ ग्रेडको इँटाको मूल्य २० हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ । मेसिन मेड चाइनिज इँटा प्रति हजार १६ हजार, चिम्नी भट्टाको लोकल इँटा १४ हजार र साधारण लोकल भट्टाको इँटा ८८०० रुपैयाँमा कायम गरिएको छ ।

त्यसैगरी टुक्रा इँटा र सुर्खीको मूल्य प्रति घनमिटर २२ सय रुपैयाँ निर्धारण गरिएको छ । ढुंगाको मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन । बोल्डर ढुंगा प्रति घनमिटर १८२० रुपैयाँ, ५० सेन्टिमिटरभन्दा ठुलो बिग बोल्डर २ हजार, फोरुवा खानीको ढुंगा १९ सय, स्थानीय भुईँमा छाप्ने ढुंगा १०५० र राम्रो ढुंगा १५ सय रुपैयाँ प्रतिवर्गमिटर तोकिएको छ ।

गिट्टी, चिप्स र बालुवाको मूल्य पनि गत वर्षकै दरअनुसार कायम गरिएको छ । कुटिएको गिट्टीको मूल्य आकार अनुसार २१०० देखि २२०० रुपैयाँ, क्रसर गिट्टी २ हजार, चिप्स २२ सय र धोएको राम्रो गुणस्तरको बालुवाको मूल्य पनि प्रति घनमिटर २२ सय रुपैयाँ निर्धारण गरिएको छ ।

जिल्ला दररेट निर्धारण समितिको बैठकमा स्थानीय तहका प्रतिनिधि, निर्माण व्यवसायी संघ, प्राविधिक अधिकृत तथा सरोकारवालाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ