+
Search

ताजा अपडेट +

पपुलर +

उत्तरी गोरखाको शिक्षा समस्याको समाधान गरी दिन शिक्षामन्त्रीलाई चुमनुब्रीकाे आग्रह

पालिका लाइभ
२०८२ असार २०, शुक्रबार

गोरखा– उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले शिक्षाको क्षेत्रमा देखिएका समस्या समाधानका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त समक्ष औपचारिक आग्रह गरेको छ।

गाउँपालिकाका अध्यक्ष निमा लामाले बुधवार मन्त्रालयमै पुगेर शिक्षामन्त्री पन्तलाई औपचारिक मागपत्र बुझाउँदै भौगोलिक बनावट र पहुँचको हिसाबले अत्यन्त चुनौतीपूर्ण रहेको चुमनुब्रीको शिक्षालाई प्राथमिकता दिन अनुरोध गरे।

उनले चुमनुब्री गाउँपालिका गोरखा जिल्लाको ३६ प्रतिशत भू-भाग ओगटेको भए पनि बजेट, पूर्वाधार र जनशक्तिको अभावका कारण शिक्षा क्षेत्र संकटमा परेको उल्लेख गर्दै थप सहयोग आवश्यक भएको बताए।

‘गाउँपालिकाको केन्द्र नै सडकबाट नजोडिएको अवस्थामा शिक्षाको पहुँच र गुणस्तर दुवै प्रभावित भएको छ,’ अध्यक्ष लामाले भने, ‘विकास निर्माणका काममा ढुवानी खर्च अत्यधिक भएकाले बजेट र अनुदानको आकार वृद्धि गरिनुपर्छ।’

अध्यक्ष लामाले शिक्षामन्त्रीसँगको भेटमा चुमनुब्रीका लागि हालको भन्दा थप १५० वटा आवासीय छात्रावास कोटा उपलब्ध गराउन, ८ जना स्थायी राहत दरबन्दी शिक्षकको व्यवस्था गर्न र मन्त्रालयले सञ्चालन गर्ने शर्तअनुदान कार्यक्रमहरूमा गाउँपालिकालाई प्राथमिकतामा राख्न माग गरेका छन्।

गाउँपालिकाले बुझाएको मागपत्रमा शिक्षा पहुँचविहीन क्षेत्रमा रहेका विद्यार्थीहरूको शिक्षामा समान अवसर सुनिश्चित गर्न केन्द्र सरकारको सक्रियता अपरिहार्य भएको उल्लेख गरिएको छ।

स्थानीय तहबाट गरिएको यो आग्रहले दुर्गम भेगमा गुणस्तरीय र समावेशी शिक्षा प्रवाहमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

Magpatra 768x1024 1

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ