गोरखा– पालुङटार नगरपालिकाले महिलाहरूलाई आत्मनिर्भर, उद्यमशील र सीपयुक्त बनाउने उद्देश्यले सञ्चालन गरेको ६५ दिने गार्मेन्ट तालिम सम्पन्न भएको छ।
नगरपालिका र न्यू एक्टिभ कन्सल्टेन्सीको संयुक्त समन्वयमा गरिएको थियो।
नगरप्रमुख विवश चिन्तनले सहभागी २० जना महिलाहरूलाई बधाई दिँदै उनीहरूले प्राप्त गरेको सीपलाई व्यवहारिक जीवनमा उतार्न प्रेरित गरे। उनले सीप सिक्नु मात्र पर्याप्त नभई त्यसलाई आयआर्जनको माध्यम बनाउनु अझ महत्त्वपूर्ण रहेको औँल्याउँदै, महिलाहरूले गार्मेन्ट सीपलाई व्यवसायमा बदल्न सके नगरकै आर्थिक गतिशीलतामा सकारात्मक प्रभाव पर्ने स्पष्ट पारे।
उनले स्थानीय स्रोतसाधनको भरपुर उपयोग गर्दै महिलालाई स्वरोजगारतर्फ प्रेरित गर्ने नीति पालिकाले अँगालेको उल्लेख गरे। यस्ता तालिमहरूले बाह्य रोजगारीको विकल्प सिर्जना गर्ने र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गर्दै तालिमको निरन्तरताप्रति प्रतिबद्धता पनि जनाए।
उपप्रमुख वन्दना पाण्डेले महिलाहरूको आत्मविश्वास र आत्मनिर्भरता विस्तारमा तालिमको भूमिका उल्लेख गर्दै, यस्तो खालको सीपले महिलालाई सामाजिक, पारिवारिक र आर्थिक भूमिकामा थप सशक्त बनाउने बताइन्। उनका अनुसार महिला मैत्री नीतिअन्तर्गत पालिकाले साना तथा मझौला उद्योगको प्रवर्द्धन, सहकारी सुदृढीकरण र व्यावसायिक परामर्श सेवा विस्तारमा विशेष प्राथमिकता दिइएको छ। आगामी वर्षमा सीप विकास, व्यावसायिक सल्लाह र अनुदान प्रणालीलाई अझ प्रभावकारी बनाउँदै लैजाने तयारी रहेको पनि उनले जानकारी दिइन् ।
प्रमुख प्रशासकीय अधिकृत कमान सिंह थापा मगरले स्थानीय शासनको समावेशी र उत्तरदायी अभ्यासमार्फत सामाजिक रूपान्तरणमा तालिमको महत्त्वपूर्ण भूमिका रहेको तर्क गरे। सीपमूलक शिक्षालाई रोजगारीसँग जोड्नुपर्ने आवश्यकता औँल्याउँदै उनले महिला, बालबालिका, अशक्त, ज्येष्ठ नागरिक र विपन्न वर्गलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरे।
तालिम समापनसँगै अन्तरक्रिया सत्र सहभागी महिलाहरू, प्रशिक्षक तथा रोजगारदाताबीच स्वरोजगारका अवसर, गार्मेन्ट उद्योगको सम्भावना, सहकार्यका सम्भावना तथा स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउने उपायहरूबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले सीप सिकाएर मात्र नरोकी, आत्मबल, नेतृत्व क्षमता र उद्यमशील सोचको विकासमा समेत उल्लेखनीय भूमिका खेलेको प्रतिक्रिया दिएका थिए।
६५ दिने तालिममा सहभागी महिलाहरूलाई लुगा सिलाइ, कटाइ, डिजाइनिङ, मेसिन सञ्चालन, साइज निर्धारण, ग्राहकसँगको व्यवहार, र व्यवसाय व्यवस्थापनजस्ता व्यवहारिक विषयमा गहन प्रशिक्षण प्रदान गरिएको थियो। तालिमपछि केही महिलाहरू व्यक्तिगत गार्मेन्ट व्यवसाय सञ्चालनको तयारीमा जुटेका छन् भने केहीले समूह बनाएर सहकार्यमा उद्योग स्थापना गर्ने योजना बनाएका छन्। सहभागी महिलाहरूले तालिम अत्यन्तै उपयोगी, व्यवहारिक र उत्साहजनक भएको प्रतिक्रिया दिँदै आफूले सिकेका सीपहरूलाई व्यवसायमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
तालिम अवधिभर संयोजक संस्था न्यू एक्टिभ कन्सल्टेन्सीले तालिमको व्यवस्थापन, मूल्याङ्कन र प्राविधिक समन्वयमा सक्रिय भूमिका खेलेको थियो। संस्था र पालिकाबीचको समन्वय, सहभागीहरूको संलग्नता र प्रशिक्षकहरूको दक्षताले तालिमलाई प्रभावकारी बनाएको सहभागीहरूको धारणा रहेको छ। तालिममा सहभागी महिलाहरूले आफ्नो अनुभव सुनाउँदै यस्ता कार्यक्रमले आफूजस्ता महिलाहरूको जीवनमा सकारात्मक मोड ल्याएको बताउँदै पालिकाप्रति आभार प्रकट गरे।





















प्रतिक्रिया