गोरखा– भच्चेक आधारभूत अस्पतालले स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यका साथ शल्यक्रिया सेवा सुरु गर्ने तयारी गरेकाे छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको प्राविधिक टोलीले अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन सम्भव हुने आधारभूत पूर्वाधार तयार भएको सिफारिस गरेपछि यो अस्पतालले आफ्नो सेवा क्षेत्रमा नयाँ आयाम थप्न लागिएको छ। अस्पतालले पोस्टमार्टम सेवा सञ्चालनका लागि आवश्यक कानुनी अनुमति, उपकरण र तालिमप्राप्त जनशक्तिको व्यवस्थापनमा पनि जोड दिइरहेको गाउँपालिकाले जनाएको छ।
c हरेक वर्ष गुणस्तरमा देखिएको सुधार अस्पतालको समग्र क्षमता, सेवा प्रवाह, व्यवस्थापन र स्वास्थ्यकर्मीहरूको समन्वयमा आएको सकारात्मक परिवर्तनको उदाहरण भएकाे सेवाग्राही बताउँछन् ।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुरेश दवाडीका अनुसार, अस्पतालले नवनिर्मित भवनमा सेवा प्रदान गर्दै आएको छ, जसले सेवा गुणस्तरमा उल्लेखनीय सुधार ल्याएको छ। भवनमा सोलार ऊर्जा, इन्टरनेट र स्विचिङजस्ता आधुनिक सुविधा उपलब्ध छन् । भच्चेक अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा उपलब्ध गराउँदै आएको छ। यसका साथै नियमित रूपमा दन्त उपचार, आँखा परीक्षण, फिजियोथेरापी र आयुर्वेद सेवा पनि सञ्चालनमा छन्। यी सबै सेवाहरूको प्रभावकारिताले एमएसएस अंक वृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेको दवाडीले बताए।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयसँगको सहकार्यमा अस्पतालले छिट्टै शल्यक्रिया सेवा सञ्चालन गर्ने लक्ष्य राखेको छ। यसका लागि आवश्यक प्राविधिक जनशक्ति, उपकरण र अन्य स्रोत व्यवस्थापनको प्रक्रिया अगाडि बढाइरहेको उनकाे भनाइ छ। साथै, पोस्टमार्टम सेवा सुरु गर्न आवश्यक कानुनी प्रक्रिया र तालिमप्राप्त जनशक्तिको समन्वयमा पनि अभाव भएकाेर तत्काल उपलब्ध गराउने लक्ष्य रहेकाे उनले बताए ।

पाँच शय्याको भच्चेक अस्पतालको नयाँ भवन प्रदेश सरकारले करिब ७ करोड रुपैयाँ लगानीमा निर्माण गरेको हो। यसले अस्पताललाई थप आधुनिक र प्रभावकारी सेवा दिन सक्षम बनाएको छ। अस्पतालमा हाल १ जना डाक्टर, ३ जना नर्स, ६ जना अहेब, १ जना हेल्थ असिस्टेन्ट, ३ जना कार्यालय सहयोगी र १ जना एम्बुलेन्स चालक गरी कुल १५ जनाको जनशक्ति कार्यरत छ। अस्पतालले हरेक दिन सार्वजनिक बिदा बाहेक बिरामीको जाँच, आकस्मिक सेवा, प्रसूति सेवा, गर्भपतन, परिवार नियोजन लगायतका सेवा नियमित रूपमा उपलब्ध गराइरहेको छ।
अस्पतालका प्रमुख डा. रामानन्द चौधरीका अनुसार अस्पतालले अहिलेसम्म बिरामीलाई ९२ प्रकारका औषधी निःशुल्क उपलब्ध गराएको छ। साथै, फार्मेसी सेवामा अस्पतालले आवश्यक औषधी खरिदमा बिरामीलाई छुटको व्यवस्था समेत गरेको छ। दैनिक रूपमा सामान्यतया ५० देखि ८० जना बिरामी जाँचका लागि आउने गर्दछन् भने कहिलेकाहीँ दिनमा १०० जनासम्म बिरामीले सेवा लिने गरेका छन्।
भच्चेक अस्पतालले लैंगिक र यौन हिंसाका पीडितलाई परामर्श र सहयोग प्रदान गर्दै आएको छ। यसका साथै, आयुर्वेद सेवा, आँखा उपचार, क्षयरोगका बिरामीलाई निःशुल्क औषधी वितरण र परामर्श सेवा पनि नियमित रूपमा सञ्चालनमा छ। प्रत्येक महिनाको १४ गते गर्भवती महिलालाई निःशुल्क भिडियो एक्स-रे सेवासमेत यहाँ उपलब्ध भएकाे अस्पतालले जनाएकाे छ ।
सामाजिक स्वास्थ्य सेवा र पूर्वाधारमा देखिएको विकासले स्थानीय समुदायमा स्वास्थ्य सेवा पहुँचमा सुधार ल्याउने मात्र होइन, सेवा गुणस्तरमा पनि ठुला सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। स्वास्थ्य क्षेत्रमा निरन्तर सुधार गर्दै अगाडि बढिरहेको यस अस्पतालले गोरखा जिल्लाको ग्रामीण स्वास्थ्य सेवा क्षेत्रमा नमुना स्थापित गर्ने सम्भावना बोकेको छ।
प्रतिक्रिया