काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । सोमबार अपराह्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा पत्र बुझाएकी हुन् ।
यो विषयमा प्रधानमन्त्री र शिक्षामन्त्रीबीच विवाद रहँदै आएको थियो । पार्टीको बैठकमा समेत शिक्षामन्त्रीले विद्यालय शिक्षा विधेयकमा प्रधानमन्त्रीले जथाभाबी बोल्ने गरेको भन्दै असन्तुष्टि व्यक्ति गरेकी थिइन्।
शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला उनले राजीनामा दिएकी हुन् । अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको छ। सम्भवतः आजकै मन्त्रिपरिषद्बाट उनको राजीनामा स्वीकृत हुनेछ ।
शिक्षक महासंघसँग बारम्बार संवाद भइरहेको छ तर निचोड निस्कन नसकेपछि शिक्षामन्त्री भट्टराई घेराबन्दीमा परेकी थिइन् ।
शिक्षकका माग सम्बोधन गर्न मन्त्री भट्टराईले सात बुँदे प्रस्ताव तयार गरेकी थिइन्। उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरी आजै आन्दोलनबाट फर्कन शिक्षकहरूलाई आह्वान गर्ने तयारी थियो। भट्टराई २०८१ असार ३१ गते मन्त्री नियुक्त भएकी थिइन्।
ईसीडीका शिक्षकको तलब १७ हजार ३०० बनाउने, सामाजिक सुरक्षा कोषको नयाँ प्याकेज बनाउने, दुर्गम भत्ता उपलब्ध गराउने, ग्रेड समायोजन, मर्यादाक्रम कायम गर्ने, हाललाई निजामती अस्पतालबाट शिक्षाको उपचारमा छुटको व्यवस्था लगायतका विषय उनको ७ बुँदामा तयार थिए ।
यसबारे मन्त्री भट्टराई आजैको मन्त्रिपरिषदमा लगेर शिक्षकको समस्या समाधान गर्नेगरी सोचेकी पनि थिइन् । यद्यपि, लगातारका दबाब थेग्न नसक्दा राजीनामा दिने अवस्थामा पुगेको मन्त्रालयका उनी निकट एक अधिकारीले दाबी गरे ।
तर, मन्त्री भट्टराईले आफ्नो राजीनामाको अन्य कारण भने सार्वजनिक गरेकी छैनन् । भट्टराईले आफू निकटस्थहरूसँग केही दिनदेखि काम गर्न कठिन भएको गुनासो गरिरहेकी थिइन् ।
शिक्षक महासंघको आव्हानमा देशभरका शिक्षकहरू २० दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । यहीबेला उनको राजीनामा आएको छ । भट्टराईले मन्त्रीबाट राजीनामा दिनुको कारण भने खुलिसकेको छैन ।
प्रतिक्रिया