गोरखा- गोरखा नगरपालिकामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले मेयर र प्रशासकीय अधिकृतले एकलौटी सरुवा गरेर कर्मचारी ल्याउने गरेको भन्दै हाजिर गर्न नदिने चेतावनी दिएका छन् ।
उपमेयर थोकरसहित कांग्रेसका १५ जना कार्यपालिका सदस्यले संयुक्त रूपमा हस्ताक्षर गर्दै गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई चेतावनी पत्र बुझाएका हुन् । गण्डकीको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे छन् । उनी कांग्रेसका हुन् ।
उपप्रमुख थोकरले मेयर कृष्णबहादुर राना र प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले आफूसँग समन्वय गरेर मात्र सरुवा गर्न, गराउन पटक पटकको आग्रह बेवास्ता गरेपछि बाध्य भएर चेतावनी दिएको एक नगर सभा सदस्य बताउँछन् । पछिल्लो समय प्रशासकीय अधिकृत सुवेदी काठमाडाैं बस्दै नगरपालिका चलाइरहेका छन् । उनले कतिसम्म गरेका छन् भने भुक्तानीसमेत काठमाडौँमा बसेर गरिरहेका छन् ।
कार्यपालिकाका २४ जना सदस्यमा कांग्रेसबाट निर्वाचित १५ जना छन् । बाँकी एमाले, माओवादी केन्द्र र नेकपा एसका छन् । प्रमुख प्रशासकीय अधिकृत बाहेकका कर्मचारी सम्बन्धित स्थानीय तहको सहमतिमा प्रदेश सरकारले सरुवा तथा कामकाजमा खटाउने व्यवस्था रहेको छ ।
पत्रमा भनिएको छ, ‘यस गोरखा नगरपालिकामा उपप्रमुखसहित बहुमत सदस्य रहेको र यस नगरपालिकामा कुनै पनि कर्मचारी सरुवा सहमतिका आधारमा सरुवा भई आउनका लागि उपप्रमुखसहितको सरुवा सहमति बेगर नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत ज्यूले छलफल नगरी एकलौटी रूपमा दिइएको सरुवा सहमतिको आधारमा कुनै पनि कर्मचारी सरुवा नगरी दिन हुन अनुरोध गरिएको छ । साथै एकलौटी तरिकाबाट दिइएको सहमतिको आधारमा सरुवा भई आएका कर्मचारीलाई हाजिर गराउन नदिने ब्यहोरा समेत जानकारी गराइन्छ ।’

प्रतिक्रिया