+
Search

ताजा अपडेट +

पपुलर +

अर्थमन्त्रीले भने : मन्त्रीहरूलाई भाषण गर्न नबोलाउनुस्, काम गर्न दबाब दिनुस्

पालिका लाइभ
२०८१ भाद्र ११, मंगलवार

काठमाडौं– उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले मन्त्रीहरूलाई औपचारिक कार्यक्रममा बोलाएर भाषण गर्न लगाउनुभन्दा काम गर्न दबाब दिनुपर्ने बताएका छन् ।

काठमाडौंमा मंगलबारदेखि सुरू भएको ‘नाडा अटो शो’ को उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले काम गर्ने कि भाषण गर्ने भन्ने असहजता मन्त्रीहरूलाई हुने गरेको बताए ।

‘मन्त्रीलाई एउटा अप्ठ्यारो हुने रहेछ । काम गर्ने कि भाषण गर्ने । म यहाँहरूसँग के राख्न चाहन्छु भने अहिले मन्त्रीहरूलाई भाषण होइन काम गर भनेर सबैले उत्प्रेरित गर्नुपर्छ भन्ने मलाई लाग्छ,’ उनले भने ।

बोलाएको कार्यक्रममा नजाँदा यथोचित मर्यादा र आदर नभएको गुनासो आउने भन्दै उनले मन्त्रीहरूलाई नीति नियम बनाउने काममा लाग्न दबाब दिन सुझाव दिए ।

मन्त्री पौडेलले देश, जनता र कानुनको ख्याल गरेर सफल व्यवसाय गर्न व्यवसायीहरूलाई आग्रह गर्दै त्यस्ता व्यवसायीहरूलाई राज्यले साथ र संरक्षण गर्ने बताए ।

अहिलेको सरकार सबैभन्दा स्थिर भएको र वर्तमान सरकारको स्थिरताले नीतिगत स्थिरताको बलियो आधार दिएको उनको दाबी थियो ।

अर्थमन्त्री पौडेलले सुन्नैपर्ने, बुझ्नैपर्ने, गर्नैपर्ने कामका लागि सुझाव दिन अरु कुनै समयमा स्वागत गर्ने बताए ।

उनले नीतिगत स्थिरता सुरक्षित गर्ने हिसाबले वर्तमान सरकार अघि बढ्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ