+
Search

ताजा अपडेट +

पपुलर +

जनार्दनलाई प्रचण्डको जवाफ-अब तपाईंले ममाथि अत्याचारका अत्याचार भनिराख्न जरुरी छैन (भिडिओ)

पालिका लाइभ
२०८१ भाद्र १, शनिबार

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उपमहासचिव जनार्दन शर्मासंगको बहसले पार्टीलाई एकताबद्ध बनाएर लैजाने विश्वास व्यक्त गरेका छन् ।

माओवादी केन्द्र काठमाडौं-रुकुम पश्चिम सम्पर्क समितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले खुला छलफलले आफूहरुबीच देखिएको आशंका मेटिने बताए ।

उनले भने, ‘कमरेड प्रभाकरले केही कुरा राख्नुभयो । कमरेड प्रभाकरसँग मेरो भेट भएदेखि नै अटुट रुपमा सँगै काम गर्दै आइरहेका छन्, तर उहाँले भनेको जस्तो उहाँको स्वभाव र मेरो के हो भन्ने कुरा त सिंगो देशले बुझेको कुरा छ । त्यो स्वभावको कारणले हामी बेलाबेलामा अगुल्टो ठोसिए झैं ठोसिने चाहिँ गरेकै छौं । अहिलेमात्रै होइन, जनयुद्ध कालमा पनि, पछि पनि र अहिले पनि, तर यो अगुल्टो ठोसिए जस्तो ठोसिनु आगो बाल्न, खाना पठाउन र राम्रोको लागि हुँदै आएको छ । म विश्वास गर्छु यो पटक अझ राम्रो हुनेछ ।’

प्रचण्डले अहिले भएको विवाद र बहसले पार्टीलाई एकताबद्ध बनाउने विश्वास व्यक्त गरे । प्रभाकरले पार्टी फुटाउँदैछ भनेर आफूले नसोचेपछि भ्रमको कारणले आशंका पैदा गरेको प्रचण्डले बताए ।

उनले स्थायी कमिटीको बैठकपछि पार्टी फुट्दैछ भन्ने मान्यतालाई खारेज गरेको जिकिर गरे । शर्माले उठाएको विषयलाई केन्द्रीय कमिटीको दस्तावेजमा समेटेर लैजाने उनले सुनाए ।

प्रचण्डले थपे, ‘केही गम्भीर आशंकाका कुराहरु छन् अझै पनि । त्यस्तो कुरामा मैले र प्रभाकरले अध्ययन अनुसन्धान गर्ने, यस्तो आशंकाको स्थिति कसरी बन्यो भन्नेबारेमा सँगै बसेर अनुसन्धान गर्ने, नभए केन्द्रबाट टीम बनाएर पनि अध्ययन गर्ने, अहिले भ्रमको कुराहरु चिरिएका छन् । त्यसैले कमरेड प्रभावकरले पनि ममाथि अत्याचारका अत्याचार भनिराख्न जरुरी छैन । तपाईंले बहस गरेर राम्रो भयो । तपाईंले भनेको कुरा मूल नेतृत्वले नकारात्मक ढंगले लिएको भए बैठकले तपाईंले उठाएको विषय पार्टीले स्वीकार्दैनथ्यो । यो कुरालाई तपाईंले गहिरोसँग आत्मसात गर्नुपर्छ ।’

उनले पार्टी फुट्दैछ भन्ने कुरालाई खारेज गरेर आफ्नो सचिवालयबाट भ्रमको धेरै चर्चा भएको भन्ने विषयमा पनि अध्यनन गर्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ