काठमाडौं- सप्तकोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ।
आइतबार बिहान ९ बजे सप्तकोशीमा जलसतहले खतराको तह पार गरेपछि ५६ वटै ढोका खोलिएको कोशी ब्यारेज केन्द्रले जानकारी दिएको छ ।
सप्तकोशीमा पानीको बहाव ३ लाख ७० हजार क्यूसेक पुगेको छ । बिहान ६ बजे ४८ वटा ढोका खोलिएको थियो । लगातार वर्षाका कारण नदीमा जलसतह बढ्दै गएर खतरा उत्पन्न भएपछि सबै ढोका खोलिएको हो । सप्तकोशीमा बहाव बढेपछि तटीय क्षेत्रमा बसेकाहरूलाई सतर्क रहन भनिएको छ ।
सप्तकोशीको बहाव अहिलेसम्मकै धेरै १९६८ मा ७ लाख ३० हजार क्युसेक पुगेको थियो ।
यो वर्षकै बहाव उच्च भएपछि कोशीका ५६ वटै ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । उनका अनुसार आज बिहान ९ बजेपछि ३ लाख ६८ हजार क्युसेक पानीकाे बहाव मापन भएको छ ।
सप्तकोशी नदीको बाढीले खतराको संकेत पार गरेपछि स्थानीय प्रशासनले नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
प्रतिक्रिया