+
Search

ताजा अपडेट +

पपुलर +

बूढीगण्डकीको काम अघि बढाउन बाबुरामले सरकारलाई दिए भदौसम्मको अल्टिमेटम

पालिका लाइभ
२०८१ असार १४, शुक्रबार

काठमाडौं– नेपाल समाजवादी पार्टीले बुढीगण्डकी करिडोर बहुउद्देश्यीय आयोजना सम्पन्न गर्नका लागि बूढीगण्डकी करिडोर विकास प्राधिकरण गठन गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

शुक्रवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा बूढीगण्डकी करिडोर बहुउद्देश्यीय आयोजनालाई विद्युत प्राधिकरण अन्तर्गतको सहायक कम्पनीको रुपमा रहेको कमजोर संरचना खारेज गर्न माग गरिएको छ ।

BRB Prachanada budi gandaki

 

अधिकार र साधन स्रोत सम्पन्न बुढीगण्डकी करिडोर विकास प्राधिकरण तुरुन्त गठन गर्न माग गरिएको पूर्वप्रधानमन्त्री डा. भट्टराईले जानकारी दिए। त्यस्तै प्राधिकरणमार्फत समग्र बूढीगण्डकी करिडोर विकासका कामहरु तिब्रताका साथ अगाडि बढाउन माग गरिएको छ । आयोजना प्रभावित नागरिकहरुका जायज मागहरुलाई पनि यथाशिघ्र सम्बोधन गर्न ज्ञापनपत्रमार्फत माग गरिएको छ ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. भट्टराईले भने ‘अहिलेजस्तो विद्युत प्राधिकरण अन्तर्गत एउटा सहायक कम्पनीबाट यो बन्न सक्दैन । त्यो भनेको नबनाउने कुरा हो । आलटाल गर्दै गएर यो अब बन्न सकेन भनेर जुन चलखेलका आशंका हिजोदेखि भएका थिए, त्यसलाई बल पुर्‍याउनेगरी यसलाई तुहाउने अथवा बनाइहालियो भनेपनि सानो जलविद्युत आयोजनाको रुपमा बनाउने । त्यतातिर जाँदैछ भन्ने हामीलाई लाग्छ, त्यसो भएको हुनाले गम्भीरतापूर्वक यो विषय उठाएका छौँ । उहाँहरुले चाहेमा संसदमार्फत बुढीगण्डकी विकास प्राधिकरण ऐन ल्याएर यसलाई अगाडी बढाउन सक्नुहुनछ । हामीले भदौ मसान्तसम्मको समय दिएका छौँ । माग पुरा गर्नु भएन भने सरोकारवाला त्यहाँका जनतासँग मिलेर हामी आन्दोलनमा जान्छौँ ।’

पूर्वप्रधानमन्त्री भट्टराईले आफूहरुको माग भाद्र महिनाभित्र पूरा नभए असोज १ गतेदेखि सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ