+
Search

ताजा अपडेट +

पपुलर +

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’

पालिका लाइभ
२०८१ बैशाख २६, बुधबार

काठमाडौं- राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ गरेका हुन् ।

बुधबार सिन्धुलीमा आयोजित कार्यक्रममा यो आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने उनले बताए । प्रधानमन्त्री प्रचण्डले आयोजना सम्पन्न भएपछि सिंचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन वृद्धि हुने विश्वास व्यक्त गरे ।

pm sunkoshi marine L1oUSQVar7

‘बागमती प्रदेशको सिन्धुली जिल्लास्थित आयोजनाले मधेश प्रदेशको ५ जिल्लाका उर्वरभूमिमा वर्षैभरि सिंचाइ सुविधा पुग्नेछ, राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान एवं जलविद्युत् उत्पादन हुनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘आज सुरूङको ‘ब्रेक थ्रु’ भएको छ, यस आयोजनाको बाँकी कामसमेत निर्धारित समयमा नै सम्पन्न हुनेछ ।’

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना रूपान्तरणकारी राष्ट्रिय गौरवको आयोजना भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आयोजनाहरू सम्पन्न हुँदा उत्पादकत्व अभिवृद्धि र समृद्धिको लक्ष्यमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘सुरूङमार्गको ब्रेक थ्रु सम्पन्न हुँदा हामी सबैमा नयाँ ऊर्जा र प्रेरणा मिलेको छ । ठूला पूर्वाधार निर्माणमा उत्साह थपेको छ ।’

pm sunkoshi marine2 VW3RUHdBkp

कृषि क्षेत्र नेपालको आर्थिक विकासको मुख्य मेरूदण्ड हुनुका साथै कुल ग्राहस्थ उत्पादनमा झन्डै एकतिहाइ योगदान रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले देशका लागि आवश्यक पर्ने खाद्यान्न आपूर्तिमा आत्मनिर्भर हुन, खाद्य सुरक्षाको सुनिश्चित गर्न, जनताको आर्थिक उत्थान र समृद्धिका साथै गरिबी न्यूनीकरण गर्न कृषि उत्पादन र उत्पादकत्व वृद्धि अपरिहार्य रहेको बताए ।

नेपालको ६० प्रतिशत कृषियोग्य भूमि तराई मधेश तथा भित्री मधेशभित्र नै पर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले तराई–मधेश क्षेत्रमा विकास भई सञ्चालन भइरहेका सिंचाइ आयोजनाहरू नदी बहाव प्रणालीमा आधारित रहेको बताए । हिमनदीहरूको पानी कृषि उत्पादनका लागि प्रयोग गरिनुपर्ने बताउँदै उनले सोही पानीको स्रोतलाई जलविद्युत् उत्पादन, खानेपानी लगायत अन्य प्रयोजनमा प्रयोग गरी राष्ट्रको समग्र विकास गरिने बताए ।

pm sunkoshi marine4 KodeJIoQMg

प्रधानमन्त्री प्रचण्डले ठूला पूर्वाधारहरूको सफल निर्माणबाट नै नेपालमा सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल हुने भएकाले आयोजना समयमै सम्पन्न गर्न निर्देशन दिए । उनले देशको रूपान्तरणकारी राष्ट्रिय गौरवको आयोजनालाई प्रभावकारी रूपमा सम्पन्न गर्ने कार्यमा आ–आफ्नो ठाउँबाट समन्वय र सहयोग गर्न अपिल गरे ।

यस आयोजनाको सफल कार्यान्वयनबाट जलस्रोत तथा सिंचाइ क्षेत्रमा कार्यरत प्राविधिकहरूको नयाँ प्रविधिको उपयोग गर्दै प्राविधिक दक्षता हासिल गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले जलस्रोतको संयोजनात्मक रूपमा उपयोग गरी उर्वर भूमिबाट कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गरी आयातको असन्तुलन कम गर्न मद्दत पुग्ने बताए ।

pm sunkoshi marine5 Kgq88F5zZ8

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना सिन्धुली र रामेछाप जिल्लाको सीमानाबाट सुनकोशी नदीको पानीलाई १३ दशमलव ३ किलोमिटर लामो सुरूङमार्फत मरिन नदीमा खसाली बागमती नदी हुँदै बागमती सिंचाइ आयोजनामा पुर्‍याउने छ । हाल सिंचाइ भइरहेको ४५ हजार ६०० हेक्टर जमिनसहित धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा वर्षैभरि सिूचाइ सुविधा पुर्‍याउने आयोजनाको प्रमुख उद्देश्य रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ