+
Search

ताजा अपडेट +

पपुलर +

चन्द्रकोट गाउँपालिकाले ‘स्त्री जाति’का पशुचौपाया ओसारपसारमा रोक लगायो

पालिका लाइभ
२०८१ बैशाख २१, शुक्रबार

गुल्मी– चन्द्रकोट गाउँपालिकाले मासुजन्य प्रयोजनका लागि पशुचौपाया ओसारपसार गर्न रोक लगाएको छ ।

गाउँपालिकाले आज (शुक्रवार) एक सूचना जारी गर्दै स्त्री जातिका पशु चौपायाहरू विशेष गरी भैँसीको बिक्री वितरण तथा ओसारपसार नगर्न/नगराउन अनुरोध गरेको हो ।

जारी सूचनामा भनिएको छ, ‘पछिल्लो समयमा पालिका क्षेत्र भित्रबाट विभिन्न कृषकहरूद्वारा पालिएका पशुचौपायाहरु मध्ये स्त्री जातिका पशु चौपाया (विशेष गरी भैंसी) हरुको अवैध रूपमा ओसार भइरहेको र मासुजन्य कार्यका लागि यातायातका विभिन्न साधनहरूबाट समेत अन्यत्र निकासी भइरहेको सम्बन्धमा यसको नियन्त्रण र नियमनका लागि अर्को व्यवस्था नभएसम्म पशु चौपाया बिक्री तथा ओसारपसार नगर्न अनुरोध छ ।’

गाउँपालिकाले कृषि, पशुपालन तथा दुग्ध उत्पादनलाई व्यावसायिक बनाउने गरी कार्यक्रम चलाइरहेको उल्लेख गर्दै स्त्री प्रजातिका पशुचौपाया अन्यत्रै मासुजन्य प्रयोजनका लागि निकासी भइरहेको थाहा हुन आएकाले किसानकै आग्रहमा सो कार्य गर्न रोक लगाएको गाउँपालिकाका अध्यक्ष युवराज खत्री क्षेत्रीले दाबी गरे ।

गाउँपालिकाले उक्त कदम कानुन सम्मत भएको र सूचना विपरीत गए पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ अनुसार कारबाही गर्ने भनाई  क्षेत्रीको छ । विशेष गरी स्त्री प्रजातिको भैंसी बिक्रीमा पालिकाले जोड गरेरै रोक लगाएको अध्यक्ष क्षेत्रीको भनाई छ ।

‘हामीले कानुनमा व्यवस्था भए अनुसार नै सूचना जारी गरेका हौँ । मासुजन्य प्रयोजनका लागि पशु चौपायाको बिक्री वितरण गर्न पाइँदैन । कि सरकारले कानुन परिवर्तन गर्नुपर्‍यो कि कानुनी व्यवस्था कार्यान्वयन । पालिकाभित्र उत्पादन वृद्धि गर्न हेतु हामीले कानुनको कार्यान्वयन गरेको मात्र हौँ’ अध्यक्ष क्षेत्रीले भने ।

गाउँपालिकाभित्रै भने किसानले पशुचौपाया बिक्रिवितरण गर्नुपरेमा अनुमति लिएर गर्न सक्ने छन् तर, अनुमति नलिई बिक्री गरेमा कारबाही गर्ने चेतावनी समेत पालिकाले दिएको छ ।

Champadevi Gapa Notice

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ