+
Search

ताजा अपडेट +

पपुलर +

बदलिँदो परिस्थितिअनुसार काम गर्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन

पालिका लाइभ
२०८० फाल्गुन २७, आईतवार

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बदलिएको परिस्थितिअनुसार तयार हुने ‘न्यूनतम साझा कार्यक्रम’ अनुसार काम गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अर्धवार्षिक समीक्षा बैठकमा प्रधानमन्त्रीले सरकारको न्यूनतम नीति तथा कार्यक्रमअनुसार थप गतिशील भएर काम गर्न निर्देशन दिए ।

‘बदलिएको परिस्थितिमा आउने नीति तथा कार्यक्रम हाम्रो कार्यालय, यस मातहतका सबै कार्यालय र सिंगो कर्मचारीतन्त्रलाई ‘गाइड लाइन’ हुनेछ,’ प्रधानमन्त्रीले भने, ‘विगतको कार्यक्रमकै वरिपरि हुनेगरी चाँडै कार्यक्रम आउनेछ । सोहीअनुसार काम गर्नुपर्नेछ ।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायको लक्ष्यअनुसारको कार्यसम्पादन प्रगतिसम्बन्धमा मासिकरूपमा छलफल गर्ने, समस्या पहिचान गर्ने र सुधार गर्नेतर्फ विशेष ध्यान दिन जरुरी रहेको भन्दै उनले राष्ट्रिय गौरवका आयोजना नियमित गर्नका लागि नियमित कार्यतालिका बनाएर अगाडि बढ्ने व्यवस्था गर्न पनि निर्देशन दिएका छन् ।

समग्र कर्मचारीतन्त्रका लागि प्रधानमन्त्री कार्यालय उदाहरणका रूपमा प्रस्तुत हुनुपर्नेमा उनको जोड छ ।

विद्यमान प्रगति सन्तोषजनक मान्न नसकिने भन्दै उनले भने, ‘तोकिएको लक्ष्य, तोकिएकै समयमा पूरा गर्न जरुरी छ । त्यसका लागि यस कार्यालयले नेतृत्वदायी भूमिका खेल्नुपर्छ । त्यसका लागि अझ बढी सजग हुन जरुरी छ । यो कार्यालय अनुगमन गर्ने कार्यालय भएकाले सम्बन्धित क्षेत्र हेर्ने सचिव र महाशाखाहरू थप क्रियाशील हुन जरुरी छ ।’

आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम तयारीको चरणमा प्रवेश भएको उल्लेख गर्दै प्रधानमन्त्रीले चालू आर्थिक वर्षको कार्यसम्पादनको स्थिति विश्लेषण गरी आगामी वर्षको तयारीमा लाग्न निर्देशन दिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतका कार्यालयले आफ्नो कार्यसम्पादनमा गति दिन र आर्थिक वर्षको अन्त्यमा कम्तीमा ८० प्रतिशतसम्म प्रगति हुनेगरी काम गर्न प्रधानमन्त्रीको निर्देशन थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ