+
Search

ताजा अपडेट +

पपुलर +

पानी जहाज कम्पनीमा कामदार पठाउन इपिएस कोरिया शाखाले खुलायो भाषा परीक्षा

पालिका लाइभ
२०८० श्रावण १४, आईतवार

काठमाडाैं- इपिएस कोरिया शाखाले पानी जहाज कम्पनीमा पठाउने कामदारका लागि भाषा परीक्षा खुलाएको छ। करिब २ हजार ५०० कामदारका लागि भाषा परीक्षा आह्वान गरिएको हो।

आवेदन फारम साउनको २० गतेदेखि २४ गतेसम्म भर्न सकिने इपिएस शाखाले जानकारी दिएको छ। इपिएस नेपालको वेब साइटमा लगइन गरेर फारम भर्न सकिने छ।

भाषा परीक्षा असोज १ गतेदेखि सुरू हुने इपिएस कोरिया शाखाले जानकारी दिएको छ।

‘नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच सम्पन्न समझदारी पत्रअनुरूप रोजगार अनुमति प्रणालीअन्तर्गत् गणतन्त्र कोरियामा नेपाली नागरिकलाई पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनौट गर्न कोरियन भाषा परीक्षा संचालन गर्ने आवेदन फाराम दर्ता गर्नुहुन सूचना आह्वान गरिएको छ,’ इपिएस कोरिया शाखाको सूचनामा भनिएको छ।

परीक्षा एकै दिनमा ४ सिफ्ट गरी सञ्चालन हुनेछ। आवेदक संख्याका आधारमा परीक्षा तालिका फेरबदल हुन सक्ने शाखाले बताएको छ।

आवेदक संख्या बढी भएमा पहिलो र दोश्रो गरी दुई चरणमा परीक्षा सञ्चालन हुने बताइएको छ।

१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको, फौजदारी अभियोगमा सजाय नपाएको, गणतन्त्र कोरियामा गएर गैरकानूनी गतिविधिमा संलग्न नभएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको, कोरियामा इ–९ र इ–९–१ भिषामा पाँच वर्षभन्दा कम अवधि बसेकोले आवेदन दिन पाउने छन्।

सन् २०२३ को कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा उत्तीर्ण भई सीप परीक्षा दिई बसेका व्यक्तिहरूलेसमेत यस क्षेत्रको परीक्षा आवेदन दर्ता गराउन सक्नेछन्। यो क्षेत्रको भाषा परीक्षामा सामेल भई अनुत्तीर्ण व्यक्तिहरूले पछि हुने अन्य क्षेत्रतर्फको परीक्षा आवेदनहरू प्रकाशित भएमा त्यस परीक्षाका लागिसमेत आवेदन दिन सक्ने शाखाले बताएको छ।

‘कोरियन भाषा परीक्षा उत्तीर्ण हुन भनेको रोजगारीको छनौट प्रकृयामा सामेल हुन रोष्टरमा सूचीकृत हुने भएकाले शत प्रतिशत रोजगारीको ग्यारेन्टी भने नभएको शाखाले बताएको छ। तसर्थ आफ्नो पेशा, व्यवसाय आदिलाई निरन्तरता दिन पनि उसले आग्रह गरेको छ।

विगतमा भाषा परीक्षा उत्तीर्ण भए पनि कोरिया जान नपाएको भन्दै आन्दोलनसमेत भएको थियो। त्यसैलाई मध्यनजर गरेर शाखाले पूर्वसूचित गरेको हो।

2023 07 30 12 00 17 gopa saun 14 1 page 0008 scaled

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ