काठमाडौं- प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा सरकारी कर्मचारीबाट चित्तबुझ्दो जवाफ नपाएपछि सांसदहरु असन्तुष्ट बनेका छन् ।
मंगलबार उखु किसानको समस्याबारे सरकारका विभिन्न मन्त्रालयका सचिवसँगको छलफलमा सांसदहरु रिसाएका हुन् । सांसदले असन्तुष्टि जनाएपछि सचिवले माफी मागेका थिए ।
छलफलको सुरुवातमा वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले उद्योग सचिव बाहिर भएको र विकल्पमा आफू आएको, आफूलाई यो विषयमा धेरै थाहा नभएको आशयमा प्रस्तुति दिएका थिए ।
उनीपछि राजश्व सचिव कृष्णहरि पुष्कर र कृषि सचिव गोविन्दप्रसाद शर्माले उखु किसानको समस्यामा मन्त्रालयले गरिरहेको काम र समस्याबारे जानकारी गराएका थिए ।
सचिवको प्रस्तुति सकिएपछि सुरुमा बोलेकी माओवादी केन्द्रकी सांसद धर्मशीला चापागाईंले कडा असन्तुष्टि जनाइन् । सचिवबाट स्पष्ट जवाफ नआएको भन्दै उनले सभापति भरतकुमार शाहको ध्यानाकर्षण जनाइन् । ‘सचिवहरूको जवाफ चित्त बुझ्दो छैन । फेरि छलफल होस् सभापतिज्यू,’ उनले भनिन् ।
१८ असोज २०७५ मा उठाएको विषय अहिलेसम्म पनि किन हल सकेन भन्दै उनले प्रश्न गरिन । ‘हामीले उद्योग र कृषि मन्त्रालयलाई रणनीतिक योजना बनाउन र तत्काल गर्न भन्यौं । अहिले फेरि त्यहीँ छलफलमा छौं,’ उनले भनिन्, ‘हामीले समाजवाद उन्मुख संविधान भनेका छौं । यहीँ हिसाबले पुग्छ त ? समितिले निर्देशन दिने, प्रतिवेदन बनाउने फेरि छलफल गर्ने यसरी कहाँ पुगिन्छ ?
सांसद पार्वती विशुंखेले पनि ‘समितिले मन्त्रालयलाई निर्देशन दिने मात्रै भयो । यसमा मन्त्रालय किन संवेदनशील भएन ?’ भन्दै यो विषयलाई फेरि छलफलको विषय बनाउनुपर्ने माग गरिन् । धर्मशीलाले मैले उहाँ (वाणिज्य सचिव भट्टराई)लाई सोध्न खोजेको उहाँ हिड्नुभयो भनिन् ।
प्रतिक्रिया