काठमाडाैं- दुई दिनअघि सरकारका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनेका गजेन्द्रबहादुर हमालले राजीनामा दिने घोषणा गरेका छन् । मन्त्री हमालले आज विहान बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप खेप्दै आएका हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने बताएका हुन् । आफ्नो राजनीतिक योगदान हुँदाहुँदै प्रधानन्यायाधीशसँग जोडेर विवाद उब्जाइएको उनले गुनासो गरेका थिए ।
‘सबैतिर परामर्श गर्दा मैले राजीनामा दिनु राम्रो मानेँ,’ हमालले भनेका थिए, ‘म धार्मिक मान्छे हुँ । मेरोबारे भइरहेको टिप्पणीबाट दुखी छु । मेरो राजनीतिक योगदानलाई अलग राखेर हेर्ने काम भयो ।’
‘मैले आफ्नो स्वविवेक प्रयोग गरें, धेरै सोचें, किन विवादमा परुँ म । किन राजीनामा दिने भनेर नेताहरुले पनि भनेका छन् तर आज राजीनामा दिन्छु,’ उनले भने ।
लामो समय कांग्रेसमा रहेर राजनीति गरेको उल्लेख गर्दै उनले आफू सदैव लो प्रोफाइलमा बसेर मोफसलमै सक्रिय रहेको स्पष्ट पारे ।अघिल्लो साता प्रधानन्यायधीशले समेत मन्त्रिमण्डलमा भाग खोजेको खबर बाहिरियो । जस्लाई सर्वोच्च अदालतले खण्डन गरे पनि मन्त्रिमण्डल बिस्तारमा प्रधानन्यायधीश जबराको जेठान हमाललाई समावेश गरिएको थियो ।
गत शुक्रवार देउवा प्रधानमन्त्री बनेको ८८ दिनपछि मन्त्रिमण्डललले पूर्णता पाउँदा गैह्र सांसद हमाललाई समेत समावेश गरिएको छ । नाताले हमाल प्रधानन्यायधीश चोलेन्द्र शमशेर जवराको जेठान हुन ।
न्यायलयले यसरी क्याविनेटदेखि संवैद्यानिक निकायमा समेत भागबण्डा खोजेको भन्दै पूर्व न्यायधीशदेखि कानुनी क्षेत्रबाटै समेत प्रधानन्यायधीश राणाको चर्काे आलोचना शुरु भइरहेको थियो ।
कानुनी क्षेत्रबाटै प्रधानन्यायधीश राणालाई महाअधियोग लगाउनु पर्नेसम्मको टिप्पणी उठिरहेकै बेला हमालले मन्त्री पदबाट राजीनामा दिएका हुन् ।
प्रतिक्रिया