दैलेख– दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि भएको छ। नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरेको हो।
चिनियाँ प्राविधिक टोलीले खानी तथा भूगर्भ विभागलाई पठाएको प्रतिवेदनमा यहाँ ग्यास र पेट्रोल भएको पुष्टि गरेको छ। चिनियाँ टोलीले प्रतिवेदन पठाएपछि उत्खननका लागि थप प्रक्रिया अघि बढाइएको विभागका भूगर्भविद् डा सुधीर रजौरेले बताए। ‘सर्भे गरिएको स्थानमा ग्यास र पेट्रोल छ भन्ने प्रमाणित भयो,’ उनले भने, ‘अब कुन भू–भागमा कति परिमाणमा छ भनेर अन्तिम सर्भे हुनेछ।’
कोरोना भाइरस संक्रमणको कारण देखाउँदै विज्ञ तथा प्राविधिकको टोलीलाई चीन सरकारले आउने अनुमति दिएको छैन। अहिले विज्ञ टोली चीनको प्राकृतिक स्रोत मन्त्रालयको अनुमति कुरेर बसेको उनको भनाइ छ । ‘चार ठाउँ क्षेत्रमा गरिएको सर्भेको नतिजा सकारात्मक देखिएको छ,’ उनले भने, ‘टोली आउनासाथ धमाधम काम सुरु हुन्छ।’
दुबै देशका सरकारबीच जीटुजी सम्झौताअनुसार काम सुरु भएकाले यसर्ले निरन्तरता पाउने विभागले बताएको छ। ‘विस्तृत सर्भे र ड्रिलिङको काम पनि अहिलेसम्म सकिन्थ्यो होला,’ भूगर्भविद् डा रजौरेले भने, ‘कोभिडका कारण झन्डै डेढ वर्ष अन्वेषणको काममा ढिलाइ भएको छ।’
दैलेखका विभिन्न ठाउँमा २०७६ असोजदेखि अन्वेषणको काम सुरु गरिएको थियो । श्रीस्थान, पादुका, कोटिला, दैलेख बजार तथा कर्णाली राजमार्ग आसपासका क्षेत्रमा ड्रिलिङको काम गरिएको विभागले बताएको छ
करीब १० वर्षअघि पनि दैलेखमा बलेको ग्यासकै कारण नेपालको कुनै भू–भागमा पेट्रोलियम पदार्थ हुनसक्छ भन्दै केही अन्तर्राष्ट्रिय कम्पनीले नेपालका विभिन्न १० जिल्लामा अन्वेषण गरेका थिए। विभिन्न कारणले अन्वेषणका काम हुन नसकेपछि सरकारले सम्झौता रद्द गरेर चीनसँग नयाँ सम्झौता गरेको थियो।
अन्वेषणको अन्तिम चरणमा जमीनमुनि ४ हजार ५०० मिटर गहिरो ड्रिलिङ गरिने भएको छ। विभागले दिएको जानकारीअनुसार यही ड्रिलिङपछि मात्र कति परिमाणमा ग्यास वा पेट्रोल छ भनेर थाहा हुनेछ।
यो काम पहिलो सर्भे गरिएको कुनै स्थानभित्र हुनसक्छ, अहिले स्थान भन्न नसकिने विभागले बताएको छ। नेपाल र चीन सरकारले भने पेट्रोलियम पदार्थको उत्खननका लागि सन् २०१७ मा सम्झौता गरेको थियो। सोहीअनुसार विभिन्न चरणमा काम सुरु भइरहेका छन्। रासस
प्रतिक्रिया