+
Search

ताजा अपडेट +

पपुलर +

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी संसद् सचिवालयलाई आज दिने

पालिका लाइभ
२०७८ बैशाख २२, बुधबार

काठमाडौं- माओवादी केन्द्रले सरकारलाई आफ्नो समर्थन नरहेको पत्र औपचारिक रुपमा संसद सचिवालयलाई आज बुझाउने भएको छ ।

पार्टी बैठकले गरेको निर्णय अनुसार नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारी पत्र संसद सचिवालयमा बुझाउन लागेको हाे ।

मंगलबार बसेको स्थायी समिति बैठकले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सरकारलाई पार्टीको समर्थन नरहेको पत्र बुधबार बुझाउन लागिएको माओवादी केन्द्रका स्थायी समिति सदस्य लीलामणि पोखरेलले जानकारी दिए ।

‘सरकारलाई समर्थन नरहेको जानकारी गराउँदैछौ । किनभने केपी ओलीको असंवैधानिक ढंगको संसद विघटनको विरुद्धमा हामी थियौँ र केपी ओलीलाई तात्कालिन नेकपाको अध्यक्ष र नेकपाको पार्टी सदस्यबाट निष्कासन गरिएको थियो’, उनले भने, ‘त्यतिबेलै दुई तिहाइ भन्दा बढी केन्द्रीय समिति सदस्यले ओलीको पार्टी मान्य नभएको र आधिकारिक पार्टी प्रचण्ड माधवले नेतृत्व गरेको पार्टी हो भनेर निर्वाचन आयोगमा भनिसकेका छौ ।’ संसद विघटनपछि पुनःस्थापना हुँदासमेत ओली नै प्रधानमन्त्री भइरहेकाले कानुनी प्रक्रिया पुर्याउने पत्र बुझाउन लागेको माओवादीको भनाइ छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङको नेतृत्वको टोली पत्र बुझाउन संसद सचिवालय जाने भएपनि समय यकिन भइनसकेको पोखरेलले ​जानकारी दिए । ‘आज पत्र बुझाउने पक्का हो तर समय तय भैसकेको छैन, सायद ११ बजेतिर हुनसक्छ’ उनको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ