+
Search

ताजा अपडेट +

पपुलर +

एमालेमा गएका नेतामाथि माओवादी केन्द्रले कारबाही गर्ने, बादलसहितका नेताको सांसद पद धरापमा

पालिका लाइभ
२०७७ फाल्गुन २९, शनिबार

काठमाडौं– पार्टी छाडेर एमालेमा गएका नेतामाथि माओवादी केन्द्रले कारबाही प्रक्रिया सुरु गर्ने भएको छ।

सत्तासमीकरण र पार्टी छाडेर हिँडेका नेताका विषयमा छलफल गर्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार स्थायी कमिटी बैठक बोलाएका छन् ।

कांग्रेस र जसपाबीच नयाँ समीकरणलाई लिएर सकारात्मक छलफल भएलगत्तै प्रचण्डले पार्टी स्थायी कमिटी बैठक बोलाएका हुन् । बैठकमा सम्भावित समीकरणबारे छलफल हुने नेताहरूले बताएकाे खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

त्यसैगरी बैठकमा पार्टी छाडेर हिँड्नेमाथि कारबाही प्रक्रिया अगाडि बढाइने पनि नेताहरूको भनाइ छ ।

‘पार्टी छाडेर हिँड्नेलाई यथाशीघ्र घर फर्कन भन्छौँ । उहाँहरूले मान्नुभएन भने पार्टी विधानअनुसार कारबाही प्रक्रिया अगाडि बढ्छ,’ स्थायी कमिटी सदस्य जनार्दन शर्माले भने, ‘यस विषयमा आइतबारको स्थायी कमिटी बैठकमा छलफल गरेर आवश्यक निर्णय लिन्छौँ।’

सर्वोच्चको फैसलाले एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि माओवादी केन्द्रका नेताहरू रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, प्रभु साह, गौरीशंकर थारू, टंक आङबुहाङ, दधिराम न्यौपाने, दिनेश पन्थी, धर्मराज रेग्मी, दावा लामा र चन्द्रबहादुर खड्कालगायत नेता एमालेमै क्रियाशील भएका छन्।

एमालेले संकटका वेला पार्टी एकता र नेतृत्वको रक्षाका लागि दृढतापूर्वक उभिएको भन्दै पूर्वमाओवादी समूहका २३ जनालाई केन्द्रीय सदस्य बनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ