काठमाडौं- प्रतिनिधिसभा पुनःस्थापनाको फैसलासँगै नेकपाको दाहाल–नेपाल पक्ष नयाँ सत्ता समीकरणका लागि विपक्षी दलको समर्थन जुटाउन दौडधुपमा छ। तर, विपक्षी दल प्रश्न गर्दै छन्, ‘तपाईंहरूको पार्टी कुन हो?’
कांग्रेस र जसपाले नेकपा विधिवत् रूपमा विभाजन नभई दाहाल–नेपाल पक्षलाई सघाउन नसक्ने जवाफ फर्काएका छन्। नेकपा विधिवत् रूपमा फुटेको घोषणा गर्न जम्मा दुईवटा विकल्प रहेकाे खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा नरेन्द्र साउदले लेखेका छन्।
पहिलो– दाहाल–नेपाल पक्षले निर्वाचन आयोगमा दिएको निवेदनअनुसार पार्टी आधिकारिकताको विवादलाई आयोगले टुंग्याइदिने।
दोस्रो– संसदीय दल र केन्द्रीय समितिबाट ४० प्रतिशत सदस्यसहित नयाँ पार्टी गठन गरेर अघि बढ्ने। तर, दोस्रो विकल्पमा जान नेकपाका दुवै पक्ष सहमत देखिएका छैनन्। आयोगले तत्काल नेकपाको विवाद निरुपण गर्ने संकेत गरेको छैन।
तत्काल निर्वाचन हुने अवस्था टरेपछि आयोगले नेकपाको आधिकारिकता विवादलाई टुंगो लगाउने जाँगरसमेत नदेखाएको आयोगकै स्रोतले बतायो। ऐन र नियमावलीअनुसार समयसीमाभित्र दाहाल–नेपाल पक्षले पार्टी आधिकारिकताका लागि दाबी नगरेको भन्दै आयोगले नेकपा एउटै पार्टी रहेको निर्णय गर्न सक्ने आयोग स्रोत बताउँछ। आयोगले माघ ११ गते नैे नेकपाको ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी नै आधिकारिक भएको, त्यति बेलाको कमिटीले गरेका निर्णय मात्र आधिकारिक हुने निर्णय गरिसकेको छ।
प्रतिक्रिया