+
Search

ताजा अपडेट +

पपुलर +

राजस्थानलाई पराजित गर्दै दिल्ली शीर्ष स्थानमा

पालिका लाइभ
२०७७ आश्विन २९, बिहीबार

काठमाडौं- दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा छैटौं जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ। बुधबार राति भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई १३ रनले पराजित गरेको हो।

१६२ रनको मध्यम लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १४८ रन मात्रै बनायो।

राजस्थानका बेन स्टोक्सले सर्वाधिक ४१ रन बनाउँदा रोविन उथप्पाले ३२, सन्जु सामसनले २५ र जस बटलरले २२ रनको योगदान दिए। बलिङतर्फ दिल्लीका एनरिच नोर्टजे र तुसार देशपाण्डेले समान २–२ विकेट लिए।

यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा सात विकेटको क्षतिमा १६१ रन बनाएको थियो। दिल्लीका लागि ओपनर शिखर धवनले ५७ र कप्तान श्रेयस ऐयरले ५३ रन बनाए।

बलिङतर्फ राजस्थानका जोफ्रा आर्चरले तीन र जयदेव उनादकतले दुई विकेट लिए।

दिल्लीले राजस्थानसँगको दुबै खेल जितेको छ। यसअघि राजस्थानसँगको लिगको पहिलो खेलमा ४६ रनले दिल्ली विजयी भएको थियो।

यो जितसँगै दिल्ली शीर्ष स्थानमा उक्लिएको छ। आठ खेलमध्ये ६ खेलमा जित र दुई खेलमा हार ब्यहोर्दै दिल्लीले १२ अंक बनाएको छ। पराजित राजस्थान भने तीन खेलमा जित र पाँच खेलमा हार ब्यर्होदै ६ अंक बनाएर लिगको पुछारदेखि दोस्रो स्थानमा छ।

सात खेलबाट १० अंक बनाएको साविक विजेता मुम्बई इन्डियन्स दोस्रो स्थानमा हुँदा सात खेलबाट १० अंक नै बनाएको रोयल च्यालेन्जर्स बैंग्लोर लिगको तेस्रो स्थानमा छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ