+
Search

ताजा अपडेट +

पपुलर +

३१ महिनापछि सक्रिय राजनीतिमा महरा, नेकपा स्थायी समिति सदस्य बनाउने तयारी

पालिका लाइभ
२०७७ आश्विन १६, शुक्रबार

काठमाडाैं- सत्तारुढ नेकपाले कृष्णबहादुर महरालाई स्थायी समिति सदस्य बनाउने तयारी गरेको छ। सभामुखमा नियुक्त भएको ३१ महिना र राजीनामा दिएको झण्डै एक वर्षपछि महरा सक्रिय राजनीतिमा आउन थालेका हुन्।

४५ सदस्यीय नेकपाको स्थायी समितिमा अग्नि सापकोटा सभामुख बनेपछि एक पद रिक्त छ। त्यसैले महरालाई स्थायी समिति सदस्य बनाउने गृहकार्य भइरहेको महरा निकट स्रोतले जनाएको छ।

कार्यकारी अध्यक्ष प्रचण्डले पनि महराको अभाव महसुस गरेको खुमलटार निकट स्रोतले बतायो । नेकपाको असोज ६ गते बसेको सचिवालय बैठकले १० दिनभित्र पार्टी एकताका बाँकी काम सक्ने कार्ययोजना ल्याउन अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेललाई निर्देशन दिएको थियो।

पार्टी एकताका बाँकी कामसँगै मन्त्रिमण्डल पुनर्गठन, संवैधानिक आयोगको पदाधिकारी नियुक्तिलगायतका विषयमा ओली र प्रचण्डबीच ६ दिनसम्म छलफल चलेको थियो।

महरालाई स्थायी समितिमा ल्याउने विषय पनि सो छलफलको एउटा एजेन्डा रहेको नेकपाका एक जना सचिवालय सदस्यले बताए। तर हिजो ओलीले एकाएक युवराज खतिवडालाई अमेरिकाको र मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतको राजदुतमा सिफारिस गराएका छन् ।

२०७० सालमा रोल्पाबाट चुनाव जितेका उनी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा दाङ झरेका थिए। ३१ महिनापछि फेरि पार्टीको सक्रिय राजनीतिमा फर्केपछि महराले नेकपाभित्रको समिकरणमा आफुलाई कसरी उभ्याउँछन् अहिले नै प्रष्ट छैन।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ