काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउन नहुने बताएका छन् ।
उनले भने,‘केपी ओली नै पाँच वर्षको प्रधानमन्त्री हो, पार्टीले सरकारलाई सहयोग गर्छ । पार्टी भनेको सबै हो । अहिले प्रधानमन्त्री ओलीको विकल्प म देख्दिनँ ।’
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री भट्टले ओली नेतृत्वको वर्तमान सरकारलाई पाँच वर्ष नै निरन्तरता दिएर ईतिहास रच्नुपर्ने र अस्थिरताको ‘ब्रेक–थ्रु’ हुनुपर्ने बताए ।
उनले पार्टीभित्र अहिले देखिएको बहस, छलफल र वादविवाद अन्ततः सहमतिमै सबै कुरा हल हुने पनि विश्वास दिलाए ।
स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री भट्टले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति हुने र सहमतिको विकल्प नभएको जिकिर गरे ।
यद्यपी उनले केही प्रवृत्तिले पार्टीभित्र खेल्न खोजेको आरोप लगाए । उनले भने,‘तर, हामी ती प्रवृत्तिलाई पराजित गरेरै अघि बढ्छौं ।’
वर्तमान सरकारले गरेका राम्रा काम र यसका उपलब्धिहरु जनतासमक्ष लगिनेपनि उनले जनाए ।
एकता महाधिवेशनसम्म दुवै अध्यक्ष अनिवार्य निरन्तर रहने र पहिलो महाधिवेशनपनि सहमतिकै आधारमा सम्पन्न गरिने उनको विश्वास छ ।
प्रतिक्रिया