काठमाडौं- आज (आइतबार) बिहान सूर्यग्रहण लाग्दैछ। ग्रहणले सूर्यलाई पूरै ढाक्ने भए पनि नेपालबाट भने खण्डग्रास (आधा मात्र ढाकेको) देख्न सकिने छ।
सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छाँया पृथ्वीमा पर्नुलाई सूर्यग्रहण भनिन्छ।
नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार बिहान १० बजेर ५० मिनेटबाट सुरु हुने सूर्यग्रहण दिउँसो २ बजेर २३ मिनेटमा सकिनेछ। मध्याह्न १२ बजेर चार मिनेट जाँदा ग्रहणले सूर्यलाई करीव ८८ प्रतिशत ढाकेको देखिने खगोलविद्ले बताएका छन्।
नेपालबाट अबको करिब ४४ वर्षपछि मात्र यस्तै अर्को सूर्यग्रहण देखिने छ।ग्रहणका समयमा तापक्रम घटेर चिसो अनुभव हुनेछ।
आजको सूर्यग्रहण कंगोबाट सुरु भई सुडान, इथियोपिया, यमन, ओमान, दक्षिण पाकिस्तान, उत्तरपश्चिम भारत, भारतको देहरादुन, कुरुक्षेत्र र दक्षिणपूर्वी चीन हुँदै प्रशान्त महासागरमा गएर अन्त्य हुनेछ। काठमाडौँबाट भने आजको सूर्यग्रहणलाई खण्डग्रासको रुपमा अवलोकन गर्न सकिने छ।
नेपाली भूभागमध्ये मुलुककै उत्तरपश्चिम बिन्दु दार्चुलाको लिम्पियाधुराबाट हेर्दा सूर्य सबैभन्दा धेरै छेकिनेछ। भारतको अतिक्रमणमा रहेको र नेपालले हालै आफ्नो नक्सामा समेटेको नेपाली भूमि लिम्पियाधुरा क्षेत्रबाट सो ग्रहणका बेला साढे ९८ प्रतिशत सूर्य ढाकिने विज्ञहरुले बताएका छन्।
प्रतिक्रिया