काठमाडौं- नेपाली काग्रेसका सांसद मिनेन्द्र रिजालले बजेटमाथि टिप्पणी गर्दै सरकार असफल भएको दाबी गरे। सरकारसँग काम गर्ने क्षमता र इमान्दारी दुवै नभएको रिजालको टिप्पणी छ।
खर्च कटौती प्रस्तावमाथि बोल्दै प्रमुख प्रतिपक्ष कांग्रेसका सांसद रिजालले बजेट आउनुभन्दा एक दिन अघि विद्युतीय गाडीलाई भन्सार नलिई छोडेकोबाट सरकार असफल भएको पुष्टि हुने दाबी गरे।
‘सरकारले जसरी एक दिनअघि बिजुलीबाट चल्ने गाडी छोड्यो, यसबाट आफू निकट व्यापारीहरुलाई र आफू कमाउनेमा लागेको पुष्टि भएको छ’, उनले भने, ‘यो घटनाबाट सरकारको इमान्दारीतामा प्रश्न खडा भएको छ।’
सरकारको राजश्व उठाउन सक्ने क्षमता नभएको उनले टिप्पणी गरे। अर्थ मन्त्रालयको खर्च २५ अर्बबाट ८ अर्बमा ल्याउन उनले माग गरे।
‘हाम्रो अर्थतन्त्र जसरी संकटमा फस्दै छ। संक्रमण अब दश हजारभन्दा माथि जाने चिन्ता छ’, उनले भने, ‘क्वारेनटाइनमा बस्ने सबैलाई संक्रमण होला भन्ने, गाउँगाउँमा फैलेला भन्ने डर बढेको छ।’
पुरक अनुमानका आधारमा बजेट ल्याऊ भन्दा सरकारले नटेरेको भन्दै उनले यसले असर पर्ने बताए। कुल गार्हस्थ उत्पादन बढ्ने अवस्था नभएको र असार मसान्तसम्मको राजश्वको अनुमान गर्न नसकिएको अवस्था रहेकाले सरकारले काम गर्न नसक्ने उनले दाबी गरे।
अर्थ मन्त्रालयले राजश्व नै अनुमान गर्न सकेको छैन तर बजेट कसरी लेख्न सकियो भन्दै रिजालले आम्दानीभन्दा धेरै १९० अर्ब बढी खर्च भइसकेकोतर्फ सरकारको ध्यानाकर्षण गराए।
प्रतिक्रिया