काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकार मुलुकलाई कम्युनिस्टकरण गर्न भ्रष्टिकरणको बाटोमा उद्धत रहेको आरोप लगाएका छन् ।
अनामनगरमा सोमबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर वरिष्ठ नेता पौडेलले नेकपा नेतृत्वको सरकार मुलुकलाई कम्युनिस्टकरण गर्नका लागि भ्रष्टाचारबाट अकुत सम्पत्ति कमाउने बाटोतर्फ अगाडि बढेको आरोप लगाए ।
उनले सरकार जनताबाट पाएको झण्डै दुईतिहाइ बहुमतको दुरुपयोग गरेर संविधान तोडमरोड गर्न लागेको पनि टिप्पणी गरे ।
‘झण्डै दुईतिहाइ जनमत बाँदरको हातमा नरिवल भएको छ । जनमतको दुरुपयोग गरेर यो सरकार संविधान तोडमरोड गर्न खोजिरहेको छ,’ उनले भने, ‘यो अत्यन्तै निन्दनीय छ ।’
नेता पौडेलले सरकारको संस्थागत भ्रष्टाचारका विरुद्ध लोकतन्त्रवादीहरुले प्रतिवाद गरेर सशक्त आन्दोलन गर्न जरुरी रहेको पनि दाबी गरे । ‘भ्रष्टाचारीविरुद्ध लोकतन्त्रवादीले सशक्र प्रतिरोध, सशक्त आन्दोलन गर्न जरुरी छ,’ उनले भने, ‘नेकपालाई रोक्न अहिले नै सशक्र कदम चाल्न जरुरी भइसकेको छ ।’
प्रतिक्रिया