+
Search

ताजा अपडेट +

पपुलर +

नेपालकै पहिलो सुरुङमार्ग बनाउन सम्झौता, ४२ महिनामा काम सकिने

पालिका लाइभ
२०७६ आश्विन ६, सोमबार

काठमाडौं- काठमाडौंको नागढुंगादेखि धादिङको नौबिसेसम्म सुरुङ मार्ग बनाउन सम्झौता भएको छ।

सोमबार २.६ किलोमिटर लामो यो सुरुङमार्ग बनाउन जापानी कम्पनी हाज्मा–आन्द्रो जेभी र सरकारबीच सहमति भएको हो।

निर्माण सुरू भएको ४२ महिनामा सुरुङमार्गको सम्पूर्ण काम सकेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने सहमतिमा उल्लेख छ।

यो सुरुङमार्ग नेपालकै पहिलो सुरुङमार्ग हुनेछ।

हाज्मा–आन्द्रो जेभीका बिजनेस म्यानेजर र नेपालका तर्फबाट सडक विभाग अन्तर्गतको विकास सहायता समन्वय महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापाले हस्ताक्षर गरेका हुन्।

आयोजना निमार्णको लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को आर्थिक सहयोग हुनेछ। यसअघि नै जाइकासँग १६ अर्ब ऋण सम्झौता भइसकेको छ।

‘दुई पक्षबीच आज सुरुङमार्ग निर्माणको सम्झौता भएको हो,’ नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजना प्रमुख श्याम खरेलले भने, ‘कम्पनीले नोभेम्बर अन्तिमदेखि काम थाल्ने छ र ४२ महिनामा सम्पन्न गरी नेपाल सरकालाई हस्तारन्तरण गर्ने सम्झौतामा उल्लेख छ।’

उनका अनुसार निर्माण सुरू गर्न निर्माणको सम्झौता, आर्थिक स्रोत, आयोजना स्थलको उपलब्धता र मोबिलाईजेसन खर्च आवश्यक हुन्छ।

अन्य सर्तहरू पूरा भए पनि आयोजनास्थल पूर्ण रूपमा उपलब्ध नभई सकेकोले समय लाग्न सक्ने खरेलले बताए। धादिङतर्फको जग्गा समस्या समाधान गर्न एक महिना लाग्ने उनको भनाइ छ।

धादिङतर्फको जग्गा विवादका कारण निर्माण प्रकृयापछि धकेलिँदै आएको थियो।

त्यहाँका स्थानीयले काठमाडौंतर्फकै मूल्यमा जग्गाको मुआब्जा माग गरेपछि जग्गा सम्झौता हुन सकेको थिएन। तर अहिले भने धादिङतर्फको मुआब्जाको विवाद समेत मिलिसकेको आयोजनाले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ