गोरखा- गोरखा र धादिङको सिमानमा निर्माण हुन लागेको बूढीगण्डकी जलविद्युत आयोजना अन्तरगत डुवान क्षेत्रमा पर्ने जग्गामा रहेका घर, गोठ र फलफूलका बिरुवाको मुआब्जा वितरण तत्काल शुरु गरिने भएको छ ।
आयोजनाले डुवान क्षेत्रमा पर्ने घरगोठ तथा बोटबिरुवा लगत संकलनको सम्पन्न गरेको आयोजना अन्र्तगत वातावरण, मुआब्जा वितरण तथा पुनःस्थापना इकाइका संयोजक कृष्ण कार्कीले जानकारी दिए ।
डुवान क्षेत्रमा पुगेर लगत संकलन लगायत काम तथा अन्य प्राविधिक काम सम्पन्न गरी त्यसका सवै विवरण ऊर्जा मन्त्रालयमा पठाई सकिएको छ ।
‘दसैंअघिदेखि नै घर, गोठ र फलफूलका बिरुवाको मुआब्जा वितरण शुरु हुन्छ’ उनले भने ‘संकलित विवरणको विश्लेषण गर्ने कार्य पनि अन्तिम चरणमा रहेको छ ।’
रुखबिरुवा र बगैंचाको मुआब्जा वितरण गर्न कुनै समस्या नभए पनि घर र गोठको मुआब्जा वितरण गर्दा नेपालको प्रचलित कानुनअनुसार ह्रासकट्टी गर्नुपर्ने भए पनि ह्रासकट्टी गर्ने कि नगर्ने भन्ने अन्योलमा रहेकाले समस्या भएको अायाेजवनाले जनाएकाे छ ।
डुवान क्षेत्रका स्थानीयले भने कुनै पनि हालतमा ह्रासकट्टी गर्न नपाइने भन्दै विरोध जनाउँदै आइरहेका छन् ।
ह्रासकट्टी गर्ने कि नगर्ने भनेर मन्त्री परिषद्बाटै निर्णय हुनुपर्ने भएकाले मन्त्रिपरिषद्को निर्णय आउना साथै मुआब्जा वितरणको काम सुरु गरिहाल्ने उनले बताए ।
प्रतिक्रिया