+
Search

ताजा अपडेट +

पपुलर +

फोहोरको व्यवस्थापन घरबाटै सुरु गर्नुपर्छ : मन्त्री मगर

पालिका लाइभ
२०७६ जेष्ठ २२, बुधबार

भक्तपुर- खानेपानीमन्त्री वीना मगरले मानिसमा रहेको विकृति र नकारात्मक सोचलाई सफा गर्नसके सरकारले अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई पूरा गर्न सकिने बताएकी छन् ।

४६औँ विश्व वातावरण दिवसको अवसरमा बुधबार भक्तपुरको सूर्यविनायकमा हनुमन्ते नदी सफाइ अभियानले आयोजना गरेको सरसफाइ, वृक्षरोपण तथा पार्क शिलान्यास कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

मन्त्री मगरले भनिन्, ‘बाहिर देखिएका फोहर टिपिरहेको हुन्छौँ, अब फोहरजन्य पदार्थको सफाइ मात्रै होइन गाउँ टोलका चिन्तनमा रहेका विकृति पनि सफा गर्नुपर्छ अनि मात्रै हामी समृद्धि नेपाल र सुखी नेपालीको नारालाई आत्मासात् गर्नसक्छौँ ।’

हनुमन्ते नदी सफाइ अभियान देशकै नमूना बनेको र यसले देशभर सफाइको सन्देश फैलाइरहेको चर्चा गर्दै उनले सफाइ अभियानको मूल मर्म फेरिनुपर्छ भनिन् ।

सो अवसरमा सूर्यविनायक गणेश मन्दिर क्षेत्रमा वृक्षरोपण गर्दै मन्त्री मगरले निर्माणाधीन पार्कको गुरुयोजनासमेत सार्वजनिक गरिन् ।

कार्यक्रममा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आफ्नो घर र टोलमा अब फोहर गर्दिन भनेर सबैले प्रतिबद्धता व्यक्त गर्नुपर्ने धारणा राख्दै हनुमन्ते करिडोर निर्माण सम्पन्न भएलगत्तै हनुमन्ते नदीलाई ढल मुक्त बनाइने र भक्तपुरलाई सडक जाम मुक्त बनाइने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ