+
Search

ताजा अपडेट +

पपुलर +

यूएईमा ग्लोबल आइएमईको प्रायोजनमा सिस्नुपानीको ‘दुई थोपा हाँसो’

पालिका लाइभ
२०८१ माघ ५, शनिबार

काठमाडौं– संयुक्त अरब इमिरेट्स (युएई) मा ग्लोबल आइएमई बैंकको प्रायोजनमा सिस्नुपानी नेपालले दुई थोपा हाँसो कार्यक्रम सम्पन्न गरेको छ ।

नयाँ वर्ष २०२५ को अवसरमा युएईमा बसोबास गरेका श्रमशील नेपाली नागरिकलाई मनोरञ्जन, वित्तीय सचेतना अभिवृद्धि एवम् जीवनका बारेमा सकारात्मक भावना अभिवृद्धि गर्ने उद्देश्यले निःशुल्क रूपमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा नेपाली राजदूतावास अबुधाबीको संयोजनमा गैर आवासीय नेपाली संघ युएइको आयोजनामा सिस्नुपानी नेपालका कलाकारहरूले प्रस्तुति दिएका थिए ।

sisnu pani glbl

यूएईका लागि नेपाली राजदूत महामहिम तेजबहादुर क्षेत्रीको प्रमुख आतिथ्यमा समुद्घाटन गरिएको उक्त कार्यक्रम आबुधाबीस्थित अलजोधा, एम ४४, मुसफ्फाबाट जनवरी १० तारिखमा सुरु गरिएको थियो । यसैगरी क्लिन्को क्याम्प , सज्जा सारजहाँ र अलकुजको बलेदिया भलिबल ग्राउन्डमा जनवरी ११ तारिखमा गरिएको थियो । जनवरी १२ तारिखमा भने इभर सेन्डाई क्याम्प, सोनापुर र इन्डियन सोसल सेन्टर अजमानमा सम्पन्न भएको थियो ।

sisnu pani glbl2

कार्यक्रममा सिस्नुपानी नेपालका तर्फबाट कार्यक्रम संयोजक तथा सिस्नुपानी नेपालका महासचिव टंक आचार्य, चर्चित हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल, गायक धीरेन्द्र परमर्षि, कलाकार चक्र दवाडी र सरोज घिमिरेको उपस्थिति रहेको थियो । कलाकार मनोज गजुरेल र चक्र दवाडीले मदन भण्डारी र बिपी कोइरालाको भूमिका निर्वाह गरेका थिए ।

टंक आचार्यले आफ्नो र अध्यक्ष लक्ष्मण गाम्नागेको कविता सुनाएर परदेशिएका नेपालीलाई भावुक बनाएका थिए । धीरेन्द्र पे्रमर्षिको प्यारोडी गीतले सबैलाई रमाइलो प्रदान गरेको थियो भने सरोज घिमिरेले मन्तव्य दिएका थिए ।

राजदूतावासबाट प्रतिनिधित्व गर्दै दीपेन्द्र पौडेल र विकास भट्टराईले नेपालीले ध्यान दिनुपर्ने कुरामा चर्चा गरेका थिए ।

sisnu pani glbl3

नेपाली रेमिट्यान्समा उल्लेख्य भूमिका निर्वाह गर्ने श्रमशील नेपालीका दुःखसुखमा ऊर्जा थप्ने उद्देश्यले सिस्नुपानी नेपालले विगत एघार वर्षदेखि यो कार्यक्रम दुई थोपा हाँसो गर्दै आएको छ । यूएईमा भने यो चौथो संस्करण हो ।

ग्लोबल आइ मई बैंकको ग्लोबल रेमिटको मुख्य प्रायोजन रहेको उक्त कार्यक्रममा नेपाल वायुसेवालगायत अन्य दर्जनौँ संस्थाको प्रायोजन रहेको थियो । आगामी दिनमा पनि यस्ता कार्यक्रम नेपालीले श्रम गरिरहेका विभिन्न देशमा गरिने बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ