काठमाडौं- भाद्र शुक्ल पूर्णिमा अर्थात् आगामी बुधबार सोह्र श्राद्ध सुरु हुँदै छ। पितृकार्यलाई शास्त्रहरूमा देवकार्यभन्दा ठूलो मानिएको छ।
पितृहरूका नाममा गरिने सोह्र श्राद्धलाई महालय श्राद्ध पनि भनिन्छ। धर्मशास्त्रअनुसार पितृकार्य नगर्दा दोष लाग्छ नै, समयमै नगरे पनि दोष लाग्छ।
तर, कोरोना महामारी बढिरहेकाले भेटघाट, जमघटको परिस्थिति छैन। यस्तो अवस्थामा सोह्र श्राद्ध कसरी गर्ने? यजमानहरू अलमलमा परेका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा गोपीकृष्ण ढुंगानाले लेखेका छन्।
यजमानहरू मात्र होइन, धार्मिक विद्वान्हरू पनि यसमा चिन्तित छन्। कतिपयको राय भर्चुअल (अनलाइन) श्राद्ध गर्नेछ। कतिपय ब्राह्मण सामुन्ने भएरै गर्नुपर्ने पक्षमा छन्। उनीहरू भन्छन्, ‘पछि सार्न पनि शास्त्रले रोकेको छैन। बरु सारौं।’
वैदिक कर्मकाण्ड महासंघ नेपालका कार्यवाहक अध्यक्ष रामचन्द्र भण्डारी महामारीबीच श्राद्ध गर्न भर्चुअल विधि अपनाउन सकिने बताउँछन्। ‘असम्भव भन्ने के नै छ र अब? कहिल्यै नगरेको भनेर केहीलाई अलि नौलो लाग्न सक्छ। तर यो समयसापेक्ष बनाउन सकिन्छ’, उनी भन्छन्।
उनका अनुसार यजमान र पण्डित÷पुरोहितबीच सहज र सहमति भए म्यासेन्जर, ह्वाट्सएप, जुमलगायत भर्चुअल माध्यमबाट सोह्र श्राद्ध गरेर पितृको उद्धार गर्न सकिन्छ।
‘पुरोहित नजिकै भए श्राद्ध सकेपछि दूरी कायम गर्दै दानदक्षिणा गरे भयो’, उनी भन्छन्, ‘नत्र बैंक खाता, ई–सेवा, खल्तीजस्ता प्रविधि प्रयोग गरेर पठाउन पनि सकिन्छ।’
प्रतिक्रिया