+
Search

ताजा अपडेट +

पपुलर +

सम्पादकहरूसँग ओली

ओलीको कटाक्ष : सबैभन्दा बढी भ्रष्टाचार गर्नेको चर्को स्वर छ

छानबिन समितिमा बयान दिन लुरुलुरु जान्नँ

पालिका लाइभ
२०८२ कार्तिक २, आईतवार

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला दिनमा भ्रष्टाचारविरुद्ध बोल्नेहरूको नै आचरणमाथि प्रश्न उठाएका छन्।

आइतबार सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा उनले ‘भित्रभित्र खाने’ प्रवृत्तिलाई लक्षित गर्दै वास्तविक सुधारका लागि इमानदार राजनीतिक इच्छाशक्ति अपरिहार्य रहेको बताए।

ओलीले भने, ‘भ्रष्टाचारको विरोध गर्नु सजिलो कुरा हो, तर अहिले सबैभन्दा बढी भ्रष्टाचार गर्नेको स्वर नै सबैभन्दा चर्को छ।’

उनले चेतावनीका स्वरमा थपे, ‘एकछिन छानबिन गर्ने दिन आउँछ। अहिले चर्को स्वरले दबाउन खोजिएको हुन सक्छ, तर त्यो दिन पक्कै आउँछ। आगो लुकाउन सकिन्छ, तर धुँवा लुकाउन सकिँदैन, त्यो त आइहाल्छ।’

२४ गतेको घटनाबारे बोल्दै उनले प्रश्न गरे, ‘जेनजीहरूले नै आगो लगाए त?’ उनले भने, ‘मैले असली जेनजीलाई सोध्दा उनीहरूले भने — हामीलाई थाहा छैन, हाम्रा मागहरू हाइज्याक भए। हजुरआमालाई प्रधानमन्त्री बनाउने हाम्रो माग होइन।’

ओलीले आन्दोलनका नाममा वास्तविक युवाहरूको भावना दुरुपयोग गर्न खोज्नेहरूलाई सचेत गराउनुपर्ने आवश्यकता औंल्याए। उनका शब्दमा, ‘देशको सुधार र सुशासनका लागि आन्दोलनको भावना सच्चा हुनुपर्छ, दुरुपयोग होइन।’

यस्तै, उनले सरकारले बनाएको गौरीबहादुर कार्की नेतृत्वको छानबिन समितिमा बयानका लागि नजाने स्पष्ट बताएका छन्। सम्पादकहरूले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले भने, ‘कसैले बोलाउँदैमा म लुरुलुरु बयान दिन जाने भन्ने हुँदैन, त्यो हुन सक्दैन।’

आफू लोकतन्त्रमा विश्वास राख्ने व्यक्ति भएको उल्लेख गर्दै उनले लोकतन्त्रको संरक्षण र सुदृढीकरणका लागि निरन्तर लागिरहने बताए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ