+
Search

ताजा अपडेट +

पपुलर +

आफ्नै गाउँमा रोजगारी :

अजिरकोटमा पहिलो पटक स्याउ उत्पादन सफल, किसान व्यावसायिक खेतीतर्फ आकर्षित

खरिबोट क्षेत्रका युवाको सामूहिक पहल र गाउँपालिकाको ५० प्रतिशत अनुदानमा सुरु भएको स्याउ फर्मले दिएको उत्पादनसँगै किवी र ट्राउट माछाको परीक्षण पनि सफल

पालिका लाइभ
२०८२ आश्विन ४, शनिबार

गोरखा– अजिरकोट गाउँपालिकामा पहिलो पटक स्याउको परीक्षण खेती सफल भएको छ। वडा नं २, खरिबोटको मूलखर्कमा गाउँपालिकाको ५० प्रतिशत अनुदानमा सुरु गरिएको यो परियोजना किसान र स्थानीय युवाहरूको लागि नयाँ आशाको स्रोत बनेको छ।

यस वर्ष गोल्डेन डेलिसियस, गाला र इटालियन फुजी बेर्ना जातका स्याउ फल्न थालेपछि कृषिमा नयाँ सम्भावना देखिएको छ।

समुद्र सतहदेखि करिब २ हजार २०० मिटर उचाइमा रहेको यो क्षेत्र पहिलेदेखि बाँझो जमिनको रूपमा परिचित थियो। गाउँपालिकाले ‘एक वडा, एक कृषि फर्म’ कार्यक्रमअन्तर्गत तीन वर्षअघि स्याउ रोपेर परीक्षण खेती सुरु गरेको थियो।

पहिलो पटक फल्न थालेपछि किसान उत्साहित भएका छन्।

करिब २० रोपनी क्षेत्रफलमा गरिएको परीक्षण खेती सफल भएपछि मूलखर्क स्याउ फर्मका सञ्चालक सञ्जीव लामाले अब व्यावसायिक उत्पादनतर्फ विस्तार गर्ने योजना बनाएका छन्। ‘अर्ग्यानिक स्याउको बजारमा माग बढी छ। हाम्रो उत्पादन गुणस्तरीय भएकाले राम्रो आम्दानी हुने अपेक्षा छ,’ उनले भने।

गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले पालिकाभित्र २ नं वडामा तीन वटा स्याउ फर्म सञ्चालनमा रहेको र सबैमा सफल परीक्षण उत्पादन भएको बताए। उनका अनुसार पालिकामा स्याउसँगै किवी र ट्राउट माछाको परीक्षण पनि पहिलो पटक सफल भएको छ। ‘हामी कृषिमा विविधता ल्याउँदै आत्मनिर्भरता हासिल गर्ने दिशामा अघि बढिरहेका छौँ,’ उनले भने।

गाउँपालिकाले किसानलाई उत्पादनमा आधारित अनुदान उपलब्ध गराउँदै आएको छ। बाँझो जमिन प्रयोग गर्ने किसानलाई हाते ट्र्याक्टर, बीउबिजन, आवश्यक उपकरण र तालिम वितरण गर्ने कार्यक्रम निरन्तर चलिरहेको छ। खरिबोटका किसान भीम बहादुर गुरुङले भने, ‘पहिले बाँझै जमिन छोड्थ्यौँ। अहिले पालिकाको सहयोगले नयाँ योजनामा हात हाल्ने हिम्मत मिलेको छ।’

साथै पालिकाले वडा नं १ र २ लाई अर्ग्यानिक कृषि उत्पादन क्षेत्र घोषणा गरेको छ। यहाँ रासायनिक मल प्रयोगमा पूर्ण प्रतिबन्ध छ। बजार प्रवर्द्धन र ब्रान्डिङको माध्यमबाट अर्ग्यानिक उत्पादनलाई प्रोत्साहन गर्ने तयारी पनि भइरहेको छ।

गोठ तथा खोर सुधार कार्यक्रम अन्तर्गत पशु चौपायामा समस्या देखिए तुरुन्त विशेषज्ञ टोली परिचालन गर्ने व्यवस्था गरिएको छ।

स्याउ, किवी र ट्राउटको सफल परीक्षणसँगै अजिरकोटमा कृषिको नयाँ सम्भावना खुलेको छ। यसले युवालाई गाउँमै रोजगारी दिने, बाँझो जमिन उत्पादनशील बनाउने र आत्मनिर्भर कृषिको लक्ष्य पूरा गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

स्थानीय किसान र गाउँपालिकाको संयुक्त प्रयासले अब अजिरकोटलाई उदाहरणीय अर्ग्यानिक कृषि क्षेत्रको रूपमा स्थापित गर्ने सम्भावना देखिन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ