+
Search

ताजा अपडेट +

पपुलर +

मन्त्रिपरिषद्‌ हेरफेर:

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक: मन्त्रिपरिषद् हेरफेरदेखि राजनीतिक समीकरणसम्म

देउवाले चाहेका छैनन् मन्त्री फेर्न, छलफलको एजेन्डा के हो?

तस्बिर : प्रधानमन्त्रीकाे सचिवालय
पालिका लाइभ
२०८२ श्रावण १५, बिहीबार

काठमाडौं– सत्तारुढ दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीच सरकारको कार्यसम्पादन समीक्षा, मन्त्रिपरिषद् पुनर्गठन र पछिल्ला राजनीतिक घटनाक्रमका सन्दर्भमा गम्भीर छलफल बालुवाटारमा जारी छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा बिहीबार दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्कालगायतका शीर्ष नेताहरूलाई बालुवाटार बोलाइएको हो।

प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंका अनुसार भेटमा मन्त्रिपरिषद् पुनर्गठनसहित अन्य समसामयिक विषयमा आवश्यक छलफल गर्न नेताहरूलाई बोलाइएको हो। ‘मन्त्री फेर्नका लागि मात्रै बैठक बस्न लागेको होइन, तर त्यो विषयमा पनि कुरा हुने निश्चित छ,’ उनले भने।

सरकार गठनको एक वर्ष पूरा भइसकेपछि प्रधानमन्त्री ओली मन्त्रिपरिषद्मा फेरबदलको तयारीमा लागे पनि सत्ता साझेदार कांग्रेसभित्रको अनिच्छाले प्रक्रिया अघि बढ्न सकेको थिएन। प्रधानमन्त्री ओलीको प्रस्तावअनुसार एमालेभित्र मन्त्री हेरफेर सहज भए पनि कांग्रेस सभापति देउवा आफ्ना तर्फबाट मन्त्री फेर्न तयार छैनन्। देउवाले निकट नेताहरूसँगको छलफलमा ‘नराम्रो केही गरेका छैनन्, अब सरकार फेर्ने बेलामै सेट नै बदलौँला’ भन्ने धारणा व्यक्त गरेका थिए।

प्रधानमन्त्री ओली मन्त्रीहरूको कार्यसम्पादन र नैतिक पृष्ठभूमिका आधारमा हेरफेर गर्न चाहिरहेका छन्। उनका अनुसार, कार्यसम्पादनमा कमजोर र विवादित मन्त्रीहरूलाई हटाएर नयाँ सक्षम व्यक्तित्वलाई समावेश गर्ने योजना छ। यसअघि शिक्षा मन्त्री विद्या भट्टराईको राजीनामापछि रघुजी पन्त मन्त्री बनेका थिए भने घूस प्रकरणमा मुछिएका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएपछि भगवती न्यौपाने नियुक्त भएका थिए।

15551545Copngress cpn UML meeting

तस्बिर : प्रधानमन्त्रीकाे सचिवालय

तर भूमि व्यवस्था मन्त्री बलराम अधिकारी, जसको नाम पनि घूस प्रकरणमा जोडिएको छ, भने अझै पदमा छन्। प्रधानमन्त्री ओली उनको ठाउँमा अर्को नेतालाई ल्याउन चाहिरहेका छन्। यस्तै, एमालेबाट भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, रक्षा मन्त्री मानवीर राई, उद्योग मन्त्री दामोदर भण्डारीको कार्यसम्पादनप्रति पनि ओली सन्तुष्ट छैनन् ।

सत्तारुढ गठबन्धनमा देखिएको अन्तर्विरोध र बागमती प्रदेशको सत्ता समीकरण सम्बन्धी किचलोले केन्द्रमा पनि असर पारेको छ। प्रदेश सरकारमा नेतृत्व परिवर्तनका प्रयास र पार्टीबीचको अविश्वासको स्थिति केन्द्रमा मन्त्रिपरिषद् पुनर्गठन प्रक्रिया अघि बढाउन बाधक बनेको हो।

यसबाहेक, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्किने संकेत दिएपछि एमालेभित्रको शक्ति सन्तुलनमा पनि हलचल आएको छ। ओली आन्तरिक समन्वयमा व्यस्त रहँदा मन्त्री फेरबदल प्रक्रिया झन् ढिलाइ भएको हो।

बालुवाटारमा जारी छलफलमा प्रधानमन्त्री ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी छन्। कांग्रेसतर्फबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी छन्।

स्रोतका अनुसार, मन्त्रिपरिषद् पुनर्गठन सत्तारुढ गठबन्धनभित्र सहमति जुटेपछि मात्रै टुंगो लाग्नेछ। नेताहरूबीच जारी वार्ताबाट आउने निष्कर्ष सरकारको आगामी रूप र कार्यसम्पादनमा निर्णायक हुने संकेत देखिएको छ।

छलफल सकिएपछि दुवै दलले औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरिरहेको जनाइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ