+
Search

ताजा अपडेट +

पपुलर +

सदनमा बोल्न रामहरिले मागे समय, राज्य व्यवस्थाबाट दिन लागेका हुन् राजीनामा ?

पालिका लाइभ
२०८२ श्रावण २७, मंगलवार

काठमाडौं- राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रतिनिधिसभामा बोल्नका लागि सभामुख देवराज घिमिरेसँग समय मागेका छन्। सदन बस्नुअघि उनले सभामुख देवराज घिमिरेसँग भेटेर बोल्न समय मागेको स्रोतले जानकारी दिएको छ।

निजामती सेवा विधेयकको कुलिङ पिरियडमा छेडखानी छानबिनका लागि गठित संसदीय समितिले उनलाई नैतिक जिम्मेवार ठहर्‍याएको थियो । चौतर्फी दबाबपछि सम्भवतः आज उनले सदनमार्फत राजीनामाको घोषणा गर्न सक्ने स्रोतको भनाइ छ। कुलिङ अफ पिरियडको गडबडी छानबिन विशेष समितिले खतिवडा र समितिका सचिव सुरजकुमार दुरालाई किटान नै गरेर जिम्मेवार ठहर गरेको थियो।

छानबिन समितिको प्रतिवेदनले सभापति खतिवडाका बारेमा भनेको छ, ‘परिमार्जित मस्यौदा प्रतिवेदन समितिका माननीय सदस्यहरूलाई देखाई छलफल गरी सभामा पेस गर्नु पर्नेमा सो नगरी निश्चित व्यक्तिहरूबीच अनौपचारिक बैठक बसी मिति २०८२-०२-१३ मा प्रतिवेदन पठाएको देखिँदा माननीय सभापतिको समन्वयकारी भूमिकामा कमी भएको देखियो।’

प्रतिवेदन सभापतिको हस्ताक्षरबाट सभामा पेश भएको देखिँदा कानुनतः हस्ताक्षरकर्ताको हैसियतले मस्यौदामा देखिएको गम्भीर त्रुटिका सम्बन्धमा समितिको मुख्य जिम्मेवारीमा रहेको सभापतिले ‘उत्तरदायीपूर्ण भूमिका वहन गरेको देखिएन’ भन्ने पनि प्रतिवेदनमा छ।

प्रतिनिधि सभा बैठकभित्र रहेका खतिवडाले आफू सरसल्लाहमा रहेको बताएका छन्। खतिवडाले भने, ‘संसदीय विशेष छानवीन समितिले त्यसखालको रिपोर्ट दिएको छ। राजनीतिक नैतिकताको विषय पनि छ । कसै न कसैले त त्यो गल्तीको जिम्मेवारी लिनुपर्ला। यदि यसमा संलग्न र गलत नियत साथ काम गर्ने कसैले जिम्मा लिंदैनन् भने के गर्ने त ? एकछिन पख्नुस् न त।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ