+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौं महानगरले आजदेखि सुरू गर्‍यो एकल सेवा प्रणाली

पालिका लाइभ
२०८१ भाद्र २१, शुक्रबार

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आजदेखि एकल सेवाकेन्द्र प्रणाली सुरू गरेको छ । काठमाडौं प्लाजास्थित कार्यालयको ब्लक ‘क’को भुइँ तलाबाट एकल सेवा सुरु गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारले बताए ।

प्रमुख प्रशासकीय अधिकृत परियारका अनुसार महानगरभित्र जुनसुकै सेवा लिन पनि यस केन्द्रमा आएर टोकन लिनु पर्ने र त्यसैका आधारमा सेवा प्राप्त हुने विद्युतीय प्रक्रिया अगाडि बढ्ने छ।

यो सेवा केन्द्रबाट आज वडा नम्बर ५ बाट विपन्न नागरिक सिफारिस लिन आएका सुरेश प्रजापती र राजस्वका दररेट सम्बन्धी जानकारी लिन आएका ३२ नम्बर वडाका समिर नेपाललाई टोकन प्रदान गरेर सुरु गरेको हो ।

उपप्रमुख सुनिता डंगोलका अनुसार केन्द्रलाई पहुँचयुक्त बनाउन सांकेतिक भाषा अनुवादक राख्नेसहितको योजना रहेको छ । महानगरले गत साउनमा सेवाग्राही सर्वेक्षण गरेको थियो । सर्वेक्षणमा सहभागी ५१७ मध्ये ६६ प्रतिशतले अनलाइन सेवाको अपेक्षा व्यक्त गरेपछि यो सेवा सुरु भएको हो ।

Kathmandu mahanagar ekal sewa

‘महानगरपालिकामा आउने कोही पनि सेवाग्राहीले सेवाका लागि कसलाई भेट्ने, कुन तलामा पुग्ने, कागज के चाहिन्छ, प्रक्रियाका लागि कति समय लाग्छ भनेर अल्मलिनु पर्दैन,’ प्रशासकीय अधिकृत परियारले भने। केन्द्रसँगै स्तनपान कक्ष छ । कक्षसँगै प्राथमिक स्वास्थ्य सेवा कक्ष छ । यस कक्षबाट सरकारले उपलब्ध गराएका ९८ प्रकारका निःशुल्क औषधि प्राप्त हुन्छ ।

महानगरका स्वास्थ्य विभागका प्रमुख दिपक केसीका अनुसार सेवा केन्द्रमा आएका सेवाग्राहीले केही समय पर्खनु पर्ने अवस्था रह्यो भने सुगर, प्रेसर जस्ता जाँच गराउन सक्नेछ । यस कक्षबाट चिकित्सकसहितका स्वास्थ्यकर्मीबाट सेवा प्रवाह हुनेछ ।’ निःशुल्क वाइफाइ सेवा, मोबाइल चार्जिङ् स्टेशन, प्रतिक्षालय, कफी केन्द्रका सुविधा हुन् ।

एकल सेवा केन्द्रबाट पाइने सुविधाहरू

Kathmandu mahanagar ekal sewa token

एकल सेवा केन्द्र सञ्चालन कार्यविधि अनुसार सेवाग्राहीलाई माग भएबमोजिमका सेवाका विषयमा जानकारी प्रदान गरिनेछ । आवश्यकता अनुसार परामर्श र सेवामा सहजीकरण गरिने महनगरले जनाएको छ ।

केन्द्रमा आठौंस्तरका अधिकृत प्रमुख हुनेछन् । केन्द्रमा एक जना महिलासहित २ जना अधिकृत स्तर छैटौँ तहका जन सम्पर्क अधिकृत हुनेछन् । नर्सिङ् सेवासमेत उपलब्ध गराउन सक्ने मनोसामाजिक परामर्शदाता १ जना, महानगर प्रहरी बलबाट नगर प्रहरी नायव निरीक्षक १ जना र श्रेणीविहिन ३ जना कार्यालय सहयोगी हुनेछन् ।

कसरी लिने सेवा ?

महानगरको सेवा माग गर्ने व्यक्ति वा संस्थाको विद्युतीय अभिलेखबाट दर्ता नम्बर सिर्जना गरिनेछ । लिखित रुपमा सेवा माग गरिएको भए सोको पहिलो पाना स्क्यान गरेर विद्युतीय माध्यमबाट सम्बन्धित विभागमा पठाइनेछ । यसरी विद्युतीय माध्यमबाट पठाइएका सक्कल कागजपत्र विभागमा पठाइनेछ ।

यसरी पठाइएको विभागका बारेमा सेवाग्राहीलाई एसएमएसमार्फत जानकारी दिइनेछ । काम सकिएपछि यसको जानकारी एसएमएसबाट प्राप्त हुनेछ । अति गोप्य र गोप्य भनेर आएका मागका सन्दर्भमा बाहिरी विषयलाई अभिलेख गरेर सम्बन्धित विभागमा पठाइनेछ ।

सेवाग्राहीले दर्ता नम्बर प्राप्त गरिसकेपछि आफ्नो काम कसरी भइरहेको छ भन्ने कुरा मोवाइल एप्लिकेसन वा वेब पेजबाट हेर्न सक्नेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ