+
Search

ताजा अपडेट +

पपुलर +

क्यानडामाथि नेपालको रोमाञ्चक जित, बलिङमा जमे रोहित

पालिका लाइभ
२०८० माघ २५, बिहीबार

काठमाडौं– नेपालले क्यानडामाथि रोमाञ्चक जित निकालेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा बिहिबार भएको खेलमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै क्यानडालाई ७ रनले हराएको हो।

टस जितेर ब्याटिङमा उत्रिएको नेपालले कुशल भुर्तेलको अर्धशतकको सहायतामा २२४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको क्यानडा २१७ रनमा अलआउट हुन पुग्यो।

२२५ रनको लक्ष्य पछ्याएको क्यानडालाई रोक्न कप्तान रोहित पौडलको प्रदर्शन शानदार रह्यो। ३७.३ ओभरमा १८९-५ को सहज अवस्थामा रहेको क्यानडालाई धराशायी बनाउँदै लक्ष्यसम्म पुग्न नदिन रोहितले २.४९ को इकोनमीमा ४ विकेट लिए।

क्यानडाका निकोलस किर्टनले सर्वाधिक ६८ रन बनाए। प्रगत सिंहले ५०, हर्ष थकरले ३२ र आरोन जोनसनले २० रन जोडे। क्यानडाका तल्लो क्रमका ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न नसक्दा नेपाल गुमिसकेको खेलमा पुनरागमन गर्न सफल भएको हो।

नेपालका लागि रोहितले सर्वाधिक ४ विकेट लिए। यस्तै, ललित राजवंशीले २ तथा सोमपाल कामी, रिजन ढकाल, पवन सर्राफ र कुशल मल्लले समान १ विकेट लिए।

टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदै २२४ रन बनाएको थियो। नेपालका लागि एकमात्र अर्धशतक कुशल भुर्तेलले बनाए।

ओपनर कुशलले पहिलो विकेटका लागि आसिफ शेखसँग ४८ रनको साझेदारी गरे। तर, ९.१ ओभरमा ८ रन बनाएका आसिफ क्यानडाका उदय भगवानको बलमा नवनीत दहीवालको बलमा क्याच आउट भए।

त्यसपछि आएका कप्तान रोहितले पनि क्रिजमा प्रभाव देखाउन सकेनन्। उनी १७ बलमा ८ रन बनाउँदै इश्वरजोत सोहीको बलमा क्याचआउट भए।

तेस्रो विकेटका रुपमा कुशल पभेलियन फर्किए। उनले ५८ बलमा ६२ रन बनाउने क्रममा ९ चौका र १ छक्का प्रहार गरे। उनलाई विकेट किपर साद बिन जाफरले स्टम्पिङ आउट गरेका हुन्।

कुशल पछि दोस्रो ठूलो स्कोर आरिफ शेखको नाममा रह्यो। उनले ५० बलमा ४ चौकाको सहायतामा ३८ रन बनाए। त्यस्तै सोमपाल कामीले २७, कुशल मल्लले २०, भीम सार्कीले १७ र पवन सर्राफले १५ रन बनाए। डेब्यु खेलमा सूर्य तामाङ १० रनमा अविजित रहे।

बलिङतर्फ क्यानडाका उदयले ३, साद बिन जफर र इश्वरजितले समान २ विकेट तथा शाहिद अमदजाइ र हर्षले समान १ विकेट लिए।

खेल हेर्न मैदान पुगेका केही दर्शकले बलात्कार मुद्दामा दोषी ठहर भएका खेलाडी सन्दीप लामिछानेको पक्षमा नाराबाजी गरेका थिए। प्रहरीले नाराबाजी गर्ने केहीलाई नियन्त्रणमा लिएको थियो।

नेपाल र क्यानडा सिरिजको दोस्रो खेलमा शनिबार आमनेसामने हुनेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ