+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री भन्छन्- अर्थतन्त्र अझै दबाबमा छ, जनतामा उत्साह र आशा जागेको छैन

पालिका लाइभ
२०८० मंसिर २६, मंगलवार

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामार्फत नीतिगत लचकता अपनाए पनि मुलुकको अर्थतन्त्रमा दबाब कायम रहेको दाबी गरेका छन् ।

सोमवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री दाहालले नेपालको अर्थतन्त्र निकै ठूलो दबाबमा रहेको भन्दै सरकारले लगातार रुपमा सुधारको प्रयास गरिरहेको बताए ।

उनले सुधारको प्रयासकै क्रममा राष्ट्र बैंकबाट मौद्रिक नीतिको समिक्षामार्फत भएका नीतिगत र व्यहारिक निर्णयले अर्थतन्त्रमा सहजिकरण गर्ने भएपनि अर्थतन्त्र अझै दबाबमा रहेको दाबी गरे ।

उनले सरकारले राजनीतिक दलका नेता,निजी क्षेत्र र अर्थतन्त्रका विज्ञहरुसँग छलफल गरेर अर्थतन्त्र सुधारको लागि दिएको निर्देशनको आधारमा राष्ट्र बैंकले बैंकको ब्याजदर घटाउने, लघुवित्तका ऋणहरु र व्यवसायीहरुको ऋण फिर्ता गर्ने समय अवधी थप गरेको दाबी गरे ।

प्रधानमन्त्री दाहालले भने,‘जनतालाई भ्रमित पार्ने षड्यन्त्र भइरहेको छ । यो बीचमा केही समस्याहरु भए । नेपालको अर्थतन्त्र निकै ठूलो दबाबमा छ । सरकारले आफ्नो ठाउँबाट लगातार सुधारको प्रयास गर्दै जाँदा राष्ट्र बैंकबाट भएका नीतिगत र व्यहारिक निर्णयले अर्थतन्त्रमा सहजिकरण गर्ने अवस्थासम्म आइपुगेको छ । मैले देशका सबै राजनीतिक दलका नेता,निजी क्षेत्रका सबै प्रतिनिधिहरु र विज्ञहरु बीच गम्भिर विर्मश गराएर केही निर्देशन जारी गरेको थिए । त्यही निर्देशन कार्यान्वयन गर्ने सन्र्दभमा राष्ट्र बैंकले बैंकको ब्याजदर घटाउने, कुरामा सहजिकरण गर्ने जस्ता काम भए । सरकारले निजी क्षेत्रले भनेको जस्तो नीति आएको भनेर अब अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदै जान्छन् भनेर निजी क्षेत्रले भनेका छन् । तर त्यति हुँदा पनि नेपालको अर्थतन्त्र माथिको दबाब हटेको छैन । अझै पनि दबाब कायम नै छ । ’

दाहालले अर्थतन्त्र सुधारको लागि सरकारले आगामी नीति तथा कार्यक्रम र बजेट मार्फत संरचनागत सुधार गर्ने तयारी गरिरहेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ