+
Search

ताजा अपडेट +

पपुलर +

मिश्र र राणालाई थुनामा राखेर सरकारले अन्याय गरेको छ, रिहाइ नगरे आन्दोलन गर्छौ : पशुपतिशम्सेर राणा

पालिका लाइभ
२०८१ चैत्र ३०, शनिबार

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिशम्सेर राणाले पार्टीका आफ्ना नेताहरूको रिहाइको माग गरेका छन् ।

पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशम्सेर राणालाई रिहाइ नगरे आन्दोलनमा जाने चेतावनीसमेत दिए ।

पूर्वअध्यक्ष राणाको निवास पुगेको टोलीसमक्ष शुक्रवार उनले प्रजातन्त्र र मानव अधिकारको मान्यता विपरीत थुनामा राखेर सरकारले ठुलो अन्याय गरेको बताए ।

‘अभिव्यक्ति स्वतन्त्रता सबै नागरिकको नैसर्गिक अधिकार हो, उनले भने, प्रजातन्त्रमा विचार स्वतन्त्रता हुन्छ, फरक मत राख्न पाइन्छ । यही हक अधिकार प्रयोग गर्दा पार्टीका नेताद्वय रवीन्द्र मिश्र र धवल शम्सेरलाई थुनामा राखेर सरकारले ठुलो अन्याय गरेको छ,’ उनले भने ।

‘हिरासतमा रहेका मिश्र, राणा लगायतका राष्ट्रवादी योद्धाका रिहाइका लागि पार्टीले सडकमा दबाबमूलक कार्यक्रम गर्नुपर्दछ’, पूर्वअध्यक्ष राणाले केन्द्रीय पदाधिकारी सहितको प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै भने ।

चैत्र १६ गते बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकले सरकारले दुई नेतालाई चौबीस घण्टाभित्र रिहा गर्नुपर्ने, रिहा नगरे राप्रपा आन्दोलनमा उत्रने निर्णय गरेको थियो ।

पार्टीको निर्णय बमोजिम झुटा मुद्दामा फसाइएका नेताहरूको रिहाइका लागि राप्रपाले देशव्यापी सडक प्रदर्शन गर्नुपर्ने, सबै राष्ट्रवादी शक्तिहरूसँग एकजुट भएर संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्य पुनर्स्थापनाका लागि निर्णायक आन्दोलन गर्नुपर्ने विचार प्रतिनिधिमण्डलमा सहभागी नेताहरूले व्यक्त गरे ।

नेता राणाको निवासमा उपस्थित राप्रपाका नेता, कार्यकताहरुले राप्रपा राष्ट्रिय झन्डा बोकेर आन्दोलनमा होमिनुपर्ने बताएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ